नुवाकोटकी मधु गुरुङ (नाम परिवर्तन) लाई हिजोआज आफ्नै छायाँले तर्साउँछ । उहाँलाई प्रहरीको पनि विश्वास लाग्दैन । सुरक्षा दिने प्रहरीले नै उहाँलाई कहिल्यै बिश्वास दिलाउन नसक्ने कुकर्म गरे ।
असारको ७ गते बेलुका ८ बजे गुरुङलाई लाग्यो अब उहाँको जीवन सकियो । ‘मैले यो उमेरमा आएर यस्तो होला भन्ने कल्पना पनि गरेको थिइन’ आँखाबाट आँसु झार्दै ४६ वर्षे गुरुङले भन्नुभयो, ‘सुरक्षा दिने प्रहरीले नै साथी ल्याएर मलाई बलात्कार गर्यो ।’
उहाँका आँसु रोकिएका छैनन् । ‘जसोतसो ज्यान जोगाएर म प्रहरी चौकी पुगें’ बिलौना गर्दै उहाँ भन्नुहुन्छ, ‘आइमाई भएर १२ बजेसम्म होटल खोलेपछि यस्तै हुन्छ भनेर रुखो बचन खेप्नु पर्यो ।’
उहाँको पसल घरभन्दा अलि पर थियो । साथीहरुसँग मिलेर चिया, नास्ता र रक्सी पसलसँगै पाहुना बस्ने होटल राखेको भर्खर दुई महिना मात्र भएको थियो । साथीहरु कामले गाउँ गएका थिए । असारको चार गतेदेखि पसल खोल्नुभएको थिएन । घरको काम सकेर ७ गते पसल खोल्नुभएको थियो, त्यो पनि आधा सटरमात्र ।’
एकजना चिनेका मानिस आएर रक्सीसँगै मासु पनि खाएर गएका थिए । त्यसपछि, एकजना प्रहरी सहित तीनजना उहाँको पसलमा आए र धेरै रक्सी पिउन थाले ।
गुरुङ आफ्नो सात वर्षकी छोरीसँगै पसलमा हुनुहुन्थ्यो । धेरै रक्सी पिएका उनीहरुले एक्कासी सटर लगाए । उहाँले किन सटर लगाएको भनेर सोध्दै अब सटर खोल पनि भन्नुभयो, तर उनीहरुले सटर खोलेनन् । ‘मेरा अरु ग्राहक पनि आउँछन् भन्दा उनीहरुले अब किन आउनुपर्यो यति राति भने’ उहाँ भन्नुहुन्छ, ‘धेरै रक्सी पिएका उनीहरुले यहीँ बस्छु भने । गुरुङले साथीहरु घरमा नभएकोले बास दिन मिल्दैन भन्नुभयो । तर उनीहरुले रक्सीले धेरै मातेको भएकोले घर जान सक्दैनौ भनेपछि बास नदिई सुख पाउनुभएन । मनमा अलिअलि डर लागेको थियो, तर आफैंमाथि जाइलाग्लान् जस्तो भने उहाँलाई लागेको थिएन ।
जब उहाँले कोठा देखाउन जानुभयो, उहाँलाई धक्का दिएर भर्याङबाट लडाइदिए । ‘म उठ्न खोज्दैथिएँ, तर मलाई उनीहरुले समातेर कोठामा लगे, मुख समातेर बोल्न पनि दिएनन्’ उहाँ भन्नुहुन्छ, ‘सानी छोरीलाई पनि अर्को कोठामा लगेर थुनिदिए, छोरी र म चिच्याएको कसैले पनि सुनेन ।’
त्यति बेला बेलुकीको ८ बजेको थियो, पीडित गुरुङले कत्ति प्रयास गर्नुभयो । तर उनीहरुबाट जालबाट उहाँ उम्कन सक्नुभएन । ‘मैले उनीहरुलाई धेरै बिन्ती गरें, पैसा लिन्न पनि भने तर मलाई उनीहरुले छोडेनन्’ उहाँ भन्नुहुन्छ, ‘रातको १२ बजेपछि मैलै मलाई गर्मी भयो, थोरै ढोका खोल्छु भनें ।’ सुरुमा उहाँको कुरा नमानेपनि पछि हुन्छ भने र त्यही मौकाको फाइदा उठाएर उहाँले ढोका खोलेर बाहिर निस्किएपछि ढोका बन्द गरेर भाग्नुभयो ।
असारको रातमा पानी परेर बाटो सबै चिप्लो थियो । तर पनि उहाँ लड्दै प्रहरी कार्यालय पुग्नुभयो । उहाँले भन्नुभयोे, ‘मलाई यस्तो भयो भन्दा मलाई बेलुकासम्म किन पसल खोलेको त भने ।’ धेरै बिलौना गरेपछि बल्ल उहाँलाई प्रहरीले सहयोग गर्यो र उनीहरुलाई पक्रन गुरुङको पसलतिर गयो ।
पसलमा पुगेर हेर्दा, उनीहरुले पसलमा भएका रक्सी र सबै खानेकुरा खाइसकेका थिए । राखेको पैसा पनि चोरेर लगेछन् । सबै भताभुंग थिए । उनीहरु पसल नजिकै बसेर खाइरहेका थिए, त्यसैबेला प्रहरीले उनीहरुलाई समात्यो । उनीहरुमध्ये दुई जना प्रहरी हिरासतमा छन् भने एक जना भने फरार रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
समाजमा सबैले हेर्ने नजर फेरियो
आफूले पाएको दुःख एकातिर छ, तर समाजले पनि उहाँलाई नराम्रो रुपमा हेर्छ । उहाँ भन्नुहुन्छ, ‘म बाटोमा हिँड्नै हुँदैन, खासखास र खुसखुस गर्छन, अपशब्द प्रयोग गरेर हेर हेर यस्ती उस्ती भन्छन् ।’
उहाँकी छोरीलाई पनि तेरो आमा त यस्तो हो भनेर सुनाइदिन्छन् । उहाँ सोध्नुहुन्छ, ‘यसमा हाम्रो के दोष ?’ समाजले अनायासै लगाएको लाल्छनाले गर्दा उहाँलाई लाग्छ, अभागी खप्पर जहाँ गएपनि ठक्कर । श्रीमान् नभएको मान्छे छाडा हुन्छन् भनेर आरोप लगाउँदा त उहाँको मन सार्है दुख्छ ।
जहाँ गएपनि धोका मात्र
गुरुङको श्रीमान् उहाँसँग बस्नुहुन्न । ६ वर्ष अगाडि नै उहाँहरुको सम्बन्ध विच्छेद भइसकेको छ । जेठी श्रीमती नबसेपछि उहाँ कान्छी श्रीमती बनेर भित्रनुभएको थियो तर ३ छोरा जन्मिएपछि श्रीमान् फेरि जेठीतिर बस्न थाले । ‘कर्मले नै ठगेको मान्छेलाई कहाँ गएर सुख हुन्छ र ?’
उहाँ भन्नुहुन्छ, ‘बुढाले छोडेपछि गाउँ आए, गाउँका दिदीबहिनीहरुले मिलेर पसल खोलौं भनेर लगानी गर्न लगाए, त्यो पनि बिचैमा छोडेर गए । आफूले गरेको लगानी उठाउनलाई आफै पसल चलाउँछु भन्दा यस्तो अन्याय भोग्नुपर्यो ।
सम्झौता गर्न आउँछन्
उहाँलाई बलात्कार गर्नेको घर पनि नुवाकोट बजारमा नै छ । प्रहरी प्रक्रेर अनुसन्धान गर्दा उनीहरुले आफूले गुरुङमाथि गरेको अन्यायलाई स्वीकारेका छन् । तर उनीहरुका आफन्तले भने उहाँलाई पैसा लिएर मुद्दा फिर्ता लिन दबाब दिन्छन् ।
‘त एक्लो मान्छे, के गर्न सक्छस् र, जेलबाट छुटेपछि नराम्रो होला भन्दै धम्काउँछन्’ उहाँले भन्नुभयो । उहाँका दुई छोरा मलेसियामा काम गर्दै गरेका छन् । अहिले उहाँलाई माइती नेपालले सहयोग गरेको छ ।