Incident Reports

बहुविवाह गरेको कसुरमा दुई वर्षकैदको फैसला

2016-07-31

Karnali, Dailekh, Narayan

बहुविवाह गरेको कसुरमा बर्दिया नेउलापुर गाविस-६ का ३४ वर्षीय तेलबहादुर दमाई र कालिकोट मान्म गाविस-५ की २७ वर्षीया लक्ष्मी दमाईलाई दैलेख जिल्ला अदालतले दोषी ठहर गर्दै साउन १६ गते दुई/दुई वर्षकैद सजाय र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट उक्त फैसला भएको जिल्ला अदालतका श्रेष्तेदार रमेश श्रेष्ठले जानकारी दिए । उनीहरूले बहुविवाह गरेको भन्दै तेलबहादुरकी जेठी पत्नी ३४ वर्षीया पुष्पा दमाईले ०७२ चैत २९ गते दैलेख प्रहरीमा उजुरी दिएकी थिइन् । सो मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालयमार्फत दैलेख जिल्ला अदालतमा ०७३ वैशाख २२ गते मुद्दा दायर गरेको थियो । तेलबहादुरले सिलाई कटाईको काम गर्ने क्रममा कालिकोट पुगेको अवस्थामा ०७२ चैत ९ गते लक्ष्मीलाई भगाई भारत पुगेका र एक वर्षमा घर नगई सोझै लक्ष्मीको माइतीमा पुगेका थिए । उनीहरू कालिकोट पुगे लगतै छोरा जन्मेको सन्दर्भमा जेठी पत्नीले पछि थाहा पाएको भन्दै बहुविवाहको जाहेरी दिएकी थिइन् । बहुविवाहको मुद्दामा तेलबहादुर र लक्ष्मी कारागार चलान भएसँगै चार महिनाको नाबालक पनि कारागारमा लगिएको छ । जेलर जीतबहादुर थापाले दुई वर्षमुनिका बालबालिका कारागार परेकी आमाले नै राख्नु पर्ने बताए ।

0 Comments