Incident Reports

अवैध मानव ओसारपसारमा पूर्वसभासद र जनजाति महासंघका उपाध्यक्ष तानिए ।

2016-08-21

Bagmati, Kathmandu, Kathmandu

पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रुपैयाँ असुलेर १३ जना गैरकलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्‍याई उतै छाडेर आएको आरोप लागेको छ । पासाङ पूर्वसभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन् । मेक्सिकोमा आयोजित हिमाली आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए । जाँदा १५ जना गए पनि फर्कंदा उनीहरूमात्र फर्किए । ती १३ जना अमेरिका पुगिसकेका छन् । मेक्सिको जाने तयारीकै क्रममा ‘पैसा लिएर उतै छाड्ने योजनाअनुसार गैरकलाकारलाई कलाकार बनाएर लैजान लागेको’ भन्दै प्रहरीमा उजुरी परेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो अधिकारीका अनुसार उजुरीपछि पासाङसहित कलाकार बनेर मेक्सिको जाने तयारीमा रहेका ६ जनासँग सोधपुछ गर्दा कार्यक्रममा सहभागी भएर फर्कने बताएपछि छाडिएको थियो । कार्यक्रम सकाएर २ जना मात्रै नेपाल फर्किएपछि प्रहरीले मानव ओसारपसारमा पुन: अनुसन्धान अगाडि बढाएको हो । कार्यक्रममा जानुअघि पासाङले गएका सबै फर्कने बताएकाले प्रहरीले उनलाई अनुसन्धानको दायरामा राखेको छ । ‘कार्यक्रममा सहभागी हुन जानुअगाडि पासाङविरुद्ध उजुरी आएको थियो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘उनले कार्यक्रम सकिएपछि सबै फर्किने हुन् भनेकाले छाडेका थियौं, अहिले सबै अमेरिका पुगेको सूचना आएपछि पुन: अनुसन्धान सुरु गरेका छौं ।’ तिब्बतसम्बन्धी संस्था कासा टिब्बेत मेक्सिको नामक संस्थाले आयोजना गरेको हिमाली संस्कृतिसम्बन्धी कार्यक्रममा कलाकार लैजाने भन्दै पैसा असुलेको सूचनाका आधारमा गत असोजमै पासाङविरुद्ध जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उजुरी परेको थियो । गृहिणी र व्यापारीलाई कलाकार भन्दै उनीहरूले प्रतिव्यक्ति ३० लाख लिएर मेक्सिको लगेर छाडेर आएको आरोप छ । पासाङले कलाकार बनाएर लगेका ताप्लेजुङकी पासाङ छोपेन, सोनाम डोमा, दावा फुटिक, कार्मा बाग्या, पासाङ शेर्पा, कासाङ शेर्पा, पेम्बा नुपु शेर्पा, लोप्साङ लामा, दावा छिरिङ शेर्पा, कान्छा शेर्पा, ग्याल्जेन शेर्पा अहिले अमेरिकामा छन् । ग्याल्जेन पासाङका आफ्नै भाइ हुन् । गोरखाका तेन्जिङ शेर्पा र इलामकी आरती राई समेत कलाकार बनेर अमेरिका पुगिसकेका छन् । यी मध्ये पेम्बा नुपु र पासाङ छोपेन अमेरिकाको टेक्सासको कारागारमा छन् । अवैध रूपमा प्रवेश गरेको आरोपमा पक्राउ परेका ११ जना भने धरौटीमा छुटिसकेका छन् ।

गैरकलाकारलाई कलाकार बनाउँदै उतै छाड्ने योजनासहित १३ जनालाई मेक्सिको लैजाने तयारी गरेको भन्दै गत असोजमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उजुरी परेको थियो । उजुरीको प्रारम्भिक छानबिनपछि प्रशासन कार्यालयबाट निवेदन जिल्ला प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा आइपुगेको थियो । निवेदकले प्रतिव्यक्ति ३० लाख रुपैयाँ लिएर मेक्सिकोमै छाड्ने योजनाअनुसार गैर कलाकारलाई कलाकार बनाएर लैजाने योजना बनाएको दाबी गरेका थिए । घटनाको गम्भीरताका आधारमा प्रधान कार्यालयले गत कात्तिकमा निवेदन ब्युरोमा पठाएपछि ब्युरोले पासाङसहित केही कलाकारलाई बोलाएर सोधपुछ गरेको थियो । स्रोतका अनुसार पासाङसँगै विज्ञानमन्त्री शिवलाल थापा र सभासद गंगा चौधरीसमेत जाने तयारी थियो । यी दुवै काम विशेषले जान नपाएपछि गत चैत पहिलो साता १५ जना मेक्सिको उडे । फर्कंदा पासाङ र डन्डुमात्रै फर्किए ।

उजुरीकर्ता केशव लामा र छिरिङ लामाले पासाङ र डन्डुले मेक्सिको लगेबापत प्रतिब्यक्ति ३० लाख रुपैयाँ असुलेको दाबी गरे । ‘मेक्सिको हुँदै अमेरिका पुगेका सबै गैरकलाकार हुन्,’ केशवले कान्तिपुरसँग भने, ‘उनीहरूले उतै छाड्ने भन्दै पैसा उठाएको खुलेपछि प्रहरीमा समयमै निवेदन दिएका थियौं, तर हाम्रो कुरा नपत्याउँदा सबै भाग्न सफल भए ।’ उजुरीकर्ताको दाबीअनुसार जिल्ला प्रशासन हुँदै निवेदन ब्युरोमा आएपछि पासाङले प्रहरीलाई मिलाउनुपर्‍यो भन्दै प्रतिव्यक्ति थप ३ देखि ६ लाख उठाएका थिए । ‘प्रहरीमा पुगेको निवेदन देखाउँदै उनीहरूले २ जनासँग ६ लाख लिए, ११ जनासँग ३ लाख लिए,’ उजुरीकर्ता छिरिङले दाबी गरे । ब्युरोमा प्रारम्भिक सोधपुछमा सबै फर्किने दाबी गरे पनि १३ जना भागेर अमेरिका पुगेको पुष्टि भएपछि ब्युरोले साउन २६ गते पासाङलाई बोलाएर सोधपुछ गरेको थियो । डन्डुले भने कार्यक्रम सकिनु दुई दिनअघि पासाङसँग आफू नेपाल फर्किएको बताए । ‘हामी नेपाल आयौं । उनीहरू भागेछन् । १३ जना नै व्यक्तिगत रूपमा मेक्सिको गएका हुन् । म पनि पासाङले भनेर अनुवादक बनेर गएको हुँ । मेरो खर्चचाहिँ पासाङले हालिदिएका हुन्,’ उनले भने । पासाङले सबै जना आ–आफ्नो निमन्त्रणामा व्यक्तिगत खर्चमा गएको दाबी गर्दै कसैसँग पैसा नलिएको दाबी गरे । मेक्सिको गएका सबै अहिले अमेरिकामा रहेका र उनीहरू कसरी त्यहाँ पुगे भन्नेबारे केही थाहा नभएको उनले दाबी गरे । ‘म आफ्नै खर्चमा गएको हुँ, डन्डु पनि आफ्नै खर्चमा गएको हो,’ उनले भने, ‘पैसा उठायो भन्नु बद्नाम गराउने प्रयासमात्र हो ।’ ‘पासाङ र कलाकारलाई सोध्दा संस्कृति आदानप्रदानका लागि जान लागेको हो, सबै फर्कन्छौं भनेका थिए,’ डीआईजी सिलवालले भने, ‘तर फर्कंदा उनीहरू मात्रै आएपछि अहिले थाहै नदिई भागे भनेकाले अनुसन्धान अगाडि बढाएका छौं ।’ मन्त्री–सभासदको भ्रमण पनि शंकामा ब्युरो स्रोतका अनुसार अनुसन्धान क्रममा अवैध मानव ओसारपसारमा सक्रिय समूहले अन्य सभासद र केही मन्त्रीको विदेश भ्रमणलाई प्रयोग गर्दै मानव ओसारपसार गरेको सूचना आएको छ । पैसा लिएर नक्कली पीए बनाउँदै ८ जनालाई स्पेन लैजाने प्रयास गरेको घटनामा तानिएका माओवादी केन्द्रका सभासद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारू खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीको संलग्नताबारे ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रहरीले सभासदका सहयोगी रोहित भन्ने दिनेश खड्कालाई पक्राउ गरेर हिरासतमा राखेको छ भने सभासदलाई पक्राउ नगरी बयान मात्र लिइरहेको छ । सभासद रामहरि खतिवडाले संसद्मै तत्कालीन वातावरणमन्त्री विश्वेन्द्र पासवान पेरिसमा भएको जलवायु सम्मेलनमा जाँदा १५ जना असम्बन्धित व्यक्तिसँग प्रतिव्यक्ति १७ लाख लिएर पोर्चुगल र स्पेनमा छाडेर आएको दाबी गर्दै त्यसबारे जानकारी माग गरेका थिए । पीडितकै सहमतिमा यस्ता घटना हुने भएकाले पीडितका अभावमा अनुसन्धान प्रभावहीन हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । कानुनले मानव ओसारपसारको अनुसन्धानमा पीडितपक्ष खोज्ने तर पीडित भनिएका नै घटनामा संलग्न हुँदा बदमासी गर्नेविरुद्ध प्रमाण कमजोर हुने ती प्रहरी अधिकारीको तर्क छ । ‘सूचना आए पनि पीडित पक्ष प्रहरीको सम्पर्कमा नआउँदा पुष्टि हुनेगरी अनुसन्धान गर्नु चुनौतीपूर्ण देखिएको छ,’ डीआईजी सिलवालले भने ।

0 Comments