Incident Reports

नक्कली नागरिकता बनाउन खोज्ने पक्राउ

2016-09-08

Province 1, Morang, Rangeli, Ward 7

भारतीय ज्वाइँलाई छोरो बनाएर नेपाली नागरिकता दिलाउन खोज्ने रंगेली ४ चोप्राहाका वीरेन्द्रप्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ। भारतको अररिया डंग्री घर भएका ज्वाइँ सुरजकुमार मण्डललाई ‘छोरो हो’ भन्दै २०७१ मा नगरपालिकामा जन्म दर्ता गराई अहिले नागरिकता लिन खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ज्वाइँ सुरज फरार छन्। वीरेन्द्रले आफ्नी छोरी अनितादेवीको विवाह सुरजसँग गराउँदा दाइजोका नाममा नेपाली नागरिकता बनाइदिने सहमति गरेको खुलेको प्रहरीले जनायो। वीरेन्द्रका छिमेकीका अनुसार उनले ज्वाइँलाई ‘छोरो’ बनाएर जन्मदर्ता गरी नागरिकता लिने प्रयास गरेका हुन्। इलाका प्रहरी रंगेलीका सई गणेश भट्टराईका अनुसार वीरेन्द्रले वैदेशिक रोजगारीमा रहेका आफ्ना छोरा सरोजका ठाउँमा ज्वाइँ सुरजको जन्मदर्ता गराई नागरिकता दिलाउने प्रयास गरेका थिए। नगरपालिकाबाट नागरिकताको सिफारिस लिएर इलाका प्रशासन पुगेका बेला वीरेन्द्र पक्राउ परेका हुन्। नगरपालिका स्रोतका अनुसार उनले ज्वाइँलाई छोराका रूपमा जन्मदर्ता गराउँदा २०७१ वैशाख ३० गते कर्मचारीलाई १७ हजार रुपैयाँ दिएका थिए। नागरिकताको सिफारिस लिन दुई दिनअघि नगरपालिकामा वीरेन्द्रको भेट तिनै कर्मचारीसँग भएको थियो। स्रोतका अनुसार उनीहरूबीच निकै समय लेनदेनको कुरा चल्दै गर्दा अवैध काम गर्न/गराउन लागेको खुलेको थियो। नागरिकताको सिफारिस लिएपछि अरू कर्मचारीले इलाका प्रशासन र प्रहरीमा सूचना दिएका थिए। भट्टराईका अनुसार रंगेली नगरपालिकाले उक्त सिफारिसअनुसार नागरिकता तत्काल जारी नगर्नु भन्ने व्यहोराको पत्र इलाका प्रशासनलाई पठाएको छ। इलाका प्रशासनलाई उक्त सिफारिसमा तत्काल नागरिकता जारी नगर्न आफूले पत्र पठाएको कार्यकारी अधिकृत गणेश कार्कीले बताए। जन्मदर्ता र सिफारिसमा लेनदेनको गुनासो आएको उल्लेख गर्दै कार्कीले छानबिनमा कर्मचारीको संलग्नता पुष्टि भए कारबाही हुने बताए। मोरङका सीमावर्ती गाउँका बासिन्दाले भारतीय मूलका केटासँग छोरीको विवाह गर्दा दाइजोका रूपमा नेपाली नागरिकता दिने गरेको यो पहिलो घटना होइन। नागरिकता दिँदा अरू दाइजो दिनु नपर्ने र नागरिकता पाएपछि ज्वाइँले नेपालमा जमिन खरिद गरेर बसोबास गर्ने चलन बढेको छ। रंगेली २ का चन्द्रेश्वर सहनीले पाँच वर्षअघि छोरी उर्मिलाको विवाह विहारका श्रीप्रसाद मुखियासँग गर्दा दाइजोबापत केही दिनु परेन। उर्मिलाको नेपाली नागरिकतालाई दुलाहा पक्षले दाइजो मानेका थिए। विवाहको कुरा पक्का गर्दा पनि दाइजोका नाममा छोरीको नागरिकता हुनुपर्ने सर्त थियो। विवाह भएको एक वर्षपछि मुखिया परिवारसहित नेपालमा स्थायी बसोबास गर्न थाले। पत्नी उर्मिलाका नाममा जग्गा किने। घर बनाए। अहिले उनी पनि नेपाली नागरिक भइसकेका छन्। गाविस सचिव हरिप्रसाद पोखरेलले भने, ‘नागरिकता भएका नेपाली युवतीसँग दाइजो नलिई विवाह गर्ने भारतीय दुलाहा विवाहको केही समयमै नेपाली नागरिक बन्ने चलन सीमावर्ती गाविसमा बढ्दो छ।’ दशकयता रंगेलीमा मात्रै सयौं भारतीय ज्वाइँ नेपाली नागरिक भएको उनको अनुमान छ। रंगेलीकै जिवश मण्डलले पनि छोरी मित्राकुमारीको विवाहमा भारतीय ज्वाइँलाई अजितेश रायलाई छोरीको नागरिकता ‘दाइजो’ दिएका थिए। उनका ज्वाइँ पनि नेपाली नागरिक भइसकेका छन्। २०६३ यता टोलीमार्फत नागरिकता वितरण गर्दा अधिकांश भारतीय नागरिकले नेपाली नागरिकता लिएको पाइएको सचिव पोखरेलले बताए। नागरिकताका लागि राजनीतिक दलका स्थानीय नेताहरूले सिफारिस गर्ने गरेका छन्। ‘दलका नेता र आफन्तले नै झुटो विवरण देखाउँछन्, टोलीको के लाग्छ?’ पोखरेलले भने, ‘सीमावर्ती हरेक गाविसमा सयौं भारतीय ज्वाइँ नेपाली नागरिक भइसकेका छन्।’

0 Comments

Related Trend Analysis