१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ । आयोगका सदस्य मञ्जित विकको नेतृत्वमा जिल्ला सदरमुकाम मन्थलीमा आएको टोलीले असोज ९ गते आयोजना गरेको पत्रकार तथा अधिकरकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बलात्कार आरोपितलाई कारबाही गराउने कार्यमा सघाउन आग्रह गरेको छ । पीडित बलिकालाई दोरम्बा गाविस-६ का २३ वर्षीय प्रज्ज्वल पाठकले ०७२ चैत १४ गते बलात्कार गरेको आरोपमा ०७३ असार ५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएको जानकारी गराइएको थियो । प्रहरीले सुरुमा जाहेरी नै लिन नमानेको र पछि जाहेरी लिए पनि आरोपित फरार भएको भन्दै गिरफ्तार गर्न आनाकानी गरेको आयोगका सदस्य विकले आरोप लगाए । आरोपित उपर कारबाही नगरेको भनी ०७३ साउन ५ गते राष्ट्रिय दलित आयोगमा समेत उजुरी परेको र आयोगले पनि सोही दिन कारबाहीको प्रक्रियालाई अघि बढाउन रामेछाप प्रहरीमा लेखी पठाउँदासमेत प्रहरीले सक्रियाता नदेखाएको उनको आरोप छ । प्रहरीले कारबाहीको प्रक्रिया अघि नबढाएको कारण दलित आयोगले घटनाको अनुगमन सुरु गरेको उनले बताए । घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत उनले आग्रह गरे । घटनाका आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७३ असार ४ गते गरिएको प्रहरीले जनाएको छ ।