Incident Reports

इँटाभट्टामा लगिँदै गरेका ११ बालिका नियन्त्रणमा

2016-12-22

Lumbini, Rolpa, Rolpa

” इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका यहाँका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको छ। सोह्र वर्षमुनिका ती बालिकालाई आफ्नै गाउँकी पवित्रा रानाले काठमाडौँस्थित महेश्वरी इँटाभट्टामा काम लगाइदिने भनी लान लागेका अवस्थामा रोल्पा बसपार्कबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। “अहिले अनुसन्धान प्रक्रियामा छौँ, अनुसन्धानले देखाएअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं ”महिला सेल इन्चार्ज दिलकुमारी बुढाले भनिन्। ती बालिका आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छाडेर कामको खोजीमा लागेको बताइएको छ। अनुसन्धान नसकिँदासम्म उनीहरुलाई सेभ हाउसमा राखिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालबालिकालाई कानुनतः श्रममा लगाउन नपाइने भएका कारण घर फिर्ता पठाउने तयारी भइहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत गोकर्ण पुनले बताए। बालिका परिवार जिम्मामाः घरबाट भागेर कोहलपुर पुगेका तीन बालिकालाई रोल्पा प्रहरीले आज आफन्तको जिम्मा लगाएको छ। गत मङ्सिर २० गते विद्यालय गएका उनीहरु भागेर कामको खोजीमा हिँडिरहेका बेला बाँके प्रहरीले नियन्त्रणमा लिई थ्रि एन्जल्स नेपाल बाँके नामक संस्थालाई बुझाएको थियो। उनीहरुलाई महिला तथा बालबालिका कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालय रोल्पा र थ्रि एन्जल्सको रोहबरमा महिला तथा बालबालिका कार्यालय रोल्पामा बुुझाएको बताइएको छ। सदरमुकाम लिवाङमा रहेको सेभ हाउसमा तीन दिनसम्म राखिएका उनीहरुलाई आजै आफन्तको जिम्मा लगाइएको महिला अधिकारकर्मी तीर्था आचार्यले बताइन्। अध्ययनका लागि विद्यालय हिँडेका उनीहरु भागेर कामको खोजीमा रोल्पाको सुलीचौर हुँदै भालुवाङबाट कोहलपुर पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। आगामी दिनमा उनीहरुलाई नभाग्ने वातारण बनाउन परिवारजनलाई सम्झाइबुझाइ गरिएको छ। रासस

0 Comments