Incident Reports

जन्मदर्ताको अधिकारबाट वञ्चित हुँदा पढाइ प्रभावित

2016-12-26

Province 1, Ilam, Illam

आफ्नो जन्म दर्ता नभएका कारण इलाम सदरमुकामस्थित आदर्श आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत तीन जना छात्र-छात्राको पढाइ प्रभावित भएको छ । विद्यालयले रजिष्ट्रेशन फारम भर्न जन्मदर्ता अनिवार्य चाहिने भनेपछि जन्मदर्ता नभएका कक्षा ८ मा अध्ययनरत प्रिया श्रेष्ठ, मनिषा लिम्बू र विशाल राईको पढाइ प्रभावित भएको हो । आफ्ना बावुलाई अहिलेसम्म नचिनेकी प्रियालाई तीन वर्षअघि आमाले पनि छोडेर हिँडेपछि अहिले उनी इलाम नपा-६ तिल्केनीमा मामाघरकी ७० वर्षीया हजुरआमा विष्णुमाया श्रेष्ठसँग बस्दै आएकी १३ वर्षीया प्रियाको जन्मदर्तामा समस्या आएको उनले बताइन् । प्रियाको मात्र होइन उनका ९ वर्षीय भाइ गोपाल श्रेष्ठको पनि जन्मदर्ता छैन । प्रियासँगै पढ्दै आएकी मनिषा लिम्बूको पनि अहिलेसम्म जन्मदर्ता छैन । जमुना-४ स्थायी घर भएकी मनिषा पनि अहिले पिपलबोटेमा बसेर पढ्दै आएकी छन् । १४ वर्षीया मनिषाका बावु धनबहादुर लिम्बूको पहिला नै मृत्यु भइसकेको छ । विद्यालयको कक्षा-८ मा पढ्ने प्रिया र मनिसाको मात्र होइन विशाल राईको पनि जन्मदर्ता छैन । विशालका बावुको पत्तो छैन भने उनकी आमा विदेशमा छन् । विशालको पनि जन्मदर्ता बनाउन नसकिएको विद्यालयले जनाएको छ । कक्षा- ८ मा पढ्ने यी विद्यार्थीमात्र होइन कक्षा- ६ की लक्ष्मी मुखिया, कक्षा- ५ की प्रतिक्षा खड्कालगायतका विद्यार्थीको पनि जन्मदर्ता गर्न नसकिएको पारिवारिक स्रोतको हवाला दिँदै विद्यालयका प्रधानाध्यापक शेखरसिंह खत्रीले बताए । खत्रीका अनुसार अर्जुन र करणको बाबु-आमा, घर, ठेगाना केही पनि पत्तो छैन । उनीहरू इलाम नपा-२ श्याम जैरुको संरक्षकत्वमा बस्दै आएका छन् । ‘कक्षा- ७ सम्म पढ्ने विद्यार्थीलाई भर्ना गराएर पढाउन कुनै समस्या भएन । अब कक्षा-८ मा जन्मदर्ता खोजेपछि उनीहरूले परीक्षा दिन नपाउने स्थितिको सृजना भएको छ ।’-प्रअ खत्रीले भने-‘नगरपालिकालाई वडा सर्जिमिन गराएर जन्म दर्ता गराउन आग्रह गर्दा पनि अहिलेसम्म केही हुन सकेको छैन । यी बालबालिकाको जन्मदर्ता कसरी गराइ दिने भन्नेमा हामी चिन्तित छौँ ।’ बालबालिका बाल विकासमा भर्ना हुँदादेखि नै जन्मदर्ता कानुनी रूपमा अनिवार्य गरिएको जिल्ला शिक्षा कार्यालयको परीक्षा शाखाका सहायक प्राविधिक अम्बिकाप्रसाद खनालले बताए ।

0 Comments