Incident Reports

सरकारद्वारा वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा

2017-02-21

Bagmati, Kathmandu, Kathmandu

सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको राससले जनाएको छ । फागुन ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए । प्रवक्ता कार्कीले भने-“मुलुक निर्वाचनमा गयो । सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।” इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विवेक ढुङ्गानाका अनुसार सरकारले मधेससहितका जिल्लाहरूमा स्थानीय तहको सङ्ख्या बढाउने र सीमाङ्कन हेरफेर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन ९ गते बसेको बैठकले सो निर्णय गरेको हो । साथै संविधान संशोधन प्रक्रियालाई फागुन १० गते बस्ने संसद बैठकबाट अघि बढाउनेसमेत बैठकले निर्णय गरेको छ । यसैगरी स्थानीय विकास मन्त्री हितराज पाण्डे नेतृत्वमा स्थानीय तहको अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनलाई मन्त्रिपरषद्को बैठकले स्वीकार गर्दै विज्ञहरूसँग छलफल गरी पुनर्संरचना प्रतिवेदनलाई टुङ्ग्याउन समितिलाई एक साताको समय दिने निर्णयसमेत गरेको छ ।

0 Comments

Related Reports