Incident Reports

परीक्षा चलिरहेको विद्यालयमा प्रेसरकुकर बम l

2013-05-09

Amrit Giri रुपन्देही । वैशाख २६ गते कक्षा १२ को परीक्षा चलिरहेको पर्र्रोहा गाविस १, मुर्गियास्थित पर्रोहा उमाविमा प्रेसर कुकर बम फेला परेको छ । वैशाख २६ गते बिहान भेटिएको उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सात घण्टापछि विद्यालय परिसरमै निश्क्रिय बनाएको छ । विद्यालयको मुख्य प्रवेशद्वारको चेनल गेटमा पाँच किलोको कुकर बम बिहान विद्यालयका पाले प्रेमबहादुर घर्तीले देखेपछि विद्यालयका प्राचार्य बलबहादुर केसीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय सालझण्डी र बुटवलको टोली घटनास्थलमा आएको थियो । केहीबेरमा बुटवलस्थित भवानी बक्स गणको सेनाको टोली आएपनि परीक्षा अवरुद्ध हुने भएकाले ढिलो गरी बम निश्क्रिय पारेको थियो । उक्त विद्यालयमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विभिन्न १० ओटा सरकारी कार्यालयको सेवा दिने गरी चार दिनदेखि घुम्ती शिविर चलाएको थियो । सोही घुम्ती शिविरमा नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलनका काम भइरहेका थिए । उक्त शिविरबाट पर्रोहा, दुधराक्ष र गजेडी गाविसका हजारौं सर्वसाधारणले सरकारी सेवादेही कार्यालयका काम लिएका थिए । बम राखिएपछि शिविरमा आएका सर्वसाधारण तथा परीक्षाका लागि आएका विद्यार्थीहरू आतंकित भएका थिए । सरकारी कार्यालयको घुम्ती शिविरलाई अवरुद्ध गराउन र आतंकित पार्ने उद्देश्यले बम राखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख राजकुमार बैदबारले बताए । बम राखिएको क्षेत्रमा कुनै पनि पर्चा र पम्लेटहरू फेला परेका छैनन् । विद्यालयमा बम भेटिएपछि पनि परीक्षा भने अवरुद्ध भएन् । बम रहेको नजिकैको भवनमा कक्षा १२ का तीन ओटा विषयको परीक्षा चलिरहेको थियो । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis