Incident Reports

प्रहरीसँगको झडपपछि केन्द्रीय सदस्यसहित आठ माओवादी कार्यकर्ता पक्राउ, रिहा l

2013-05-15

Durga Thapa सुर्खेत । जेठ २ गते मैनतडा गाविस-३ जहरेमा नेकपा-माओवादीका कार्यकर्ता र प्रहरीबीच ०७० जेठ १ गते दिउँसो झडप भएको छ । स्थानीय प्रशासनले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा माओवादी कार्यकर्ताले अवरोध पुर्‍याउन खोजेपछि झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका सहायक हल्दार मानबहादुर बुढा र सशस्त्र प्रहरी जवान नरेन्द्र आचार्य सख्त घाइते भएका छन् । माओवादी कार्यकर्ताहरूले शिविरमा ढुंगा प्रहार गरेपछि प्रहरीले छ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । झडपका कारण करिब १ घण्टा शिविर अवरुद्ध भएको थियो । प्रहरीले माओवादीका केन्द्रीय सदस्य भरत बमसहित नौ जनालाई नियन्त्रणमा लिएपछि झडप रोकिएको हो । गिरफ्तार हुनेमा माओवादीका जिल्ला सह-इन्चार्ज जेवी सुनार तथा कार्यकर्ताहरू तुल्सी पौडेल, सोमबहादुर राना, खगेन्द्र बुढा, टोपबहादुर चलाउने, देवबहादुर चलाउने, कुलबहादुर परियार र पुर्णबहादुर रियारलाई नियन्त्रणमा लिएपनि जेठ १ गते साँझ नै रिहा गरिसकेको छ । कार्यकर्ता पक्राउको विरोधमा माओवादीले जेठ १ गते दिनभर स्थानीय मैनतडाको जहरे बजार बन्द गराएका थिए भने झडप रोकिएपछि पुनः शिविर सञ्चालनमा आएको थियो । झडपअघि नियन्त्रणमा लिइएका नेकपा-माओवादीको भेरी कर्णाली राज्य समिति सदस्य सहवीर महर तथा जिल्ला कमिटी सदस्यद्वय टेकबहादुर तिरुवा र रामबहादुर सुनारलाई प्रहरीले यातना दिएको माओवादीको दाबी छ । सदरमुकामबाट प्रदान गरिदै आएको सेवा गाउँमै पुगेर प्रदान गर्ने लक्ष्यसहित आयोजना गरिएको शिविरमा माओवादी कार्यकर्ताहरूले हुलहुज्जत गरेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले माओवादी कार्यकर्ताले एक्कासि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको बताए । शिविरमा पहिले माओवादीले नै आक्रमण गरेको पनि प्रजिअ कुँवरले जानकारी दिए । यता नेकपा-माओवादीले भने शान्तिपूर्ण विरोधमा प्रहरीले दमन गरेको आरोप लगाएको छ । जेठ १ गते वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रशासनले शान्तिपूर्ण रुपमा गरिएको विरोधको कार्यक्रममा पञ्चायती शैलीमा धरपकड गरेको जनाएको छ । नेकपा-माओवादीका केन्द्रीय सदस्य कृष्ण धमलाले प्रहरीले मैनतडामा प्रदर्शन गरेको रवैयाले पञ्चायत र शाहीशासनको झल्को दिएको बताए । उनले शान्तिपूर्ण विरोध गर्न पाउनु सबैको अधिकार भएको भन्दै प्रशासनले आफूहरूको अधिकार हनन् गरेको आरोप लगाए । धमलाले विभिन्न ३३ दलले विदेशीलाई नागरिकता दिने अध्यादेशको तत्काल खारेजी र नागरिकता वितरणको कार्य रोक्न संर्घषका कार्यक्रम सञ्चालन गरेको भन्दै सोही कार्यक्रम अन्तर्गत मैनतडाको घुम्त- शिविरमा अवरोध गरिएको बताए । माओवादीले प्रहरीले दमन गरेको भन्दै ०७० जेठ २ गते सुर्खेत जिल्ला बन्दको आहृवान गरेको छ । अघिल्लो दिन नै प्रेस विज्ञप्ति प्रकाशित गरी माओवादी सुर्खेतले यातायात, शैक्षिक संस्था तथा व्यापार सबै बन्द गराइने जनाएको छ । जिल्ला सेक्रेटरी प्रशान्त आरसीद्धारा जारी विज्ञप्तिमा शान्तिपूर्ण विरोधमा व्यापक प्रहरी परिचालन गरी आफ्ना नेता तथा कार्यकर्तामाथि दमन, धरपकड, गिरफ्तारी र यातना दिएको विरोधमा जिल्ला बन्द गरिएको जनाएका छन् । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis