Incident Reports

पत्नी बिक्री गर्नेलाई २० वर्षकैद l

2013-05-21

Pratap Bista मकवानपुर । जेठ ७ गते पत्नीलाई भारतको वेश्यालयमा लगेर बिक्री गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक व्यक्तिलाई २० वर्षकैद गर्ने फैसला गरेको छ । पीडकलाई २ लाख रुपियाँ जरिवाना गर्ने फैसला पनि गरेको छ । अदालतले पीडित महिलालाई पीडकबाट ३ लाख रुपियाँ क्षतिपुर्ति स्वरुप उपलब्ध गराउन आदेश गरेको छ । उक्त रकम सरकारले पुनःस्थापना कोषबाट तत्काल पीडितलाई उपलब्ध गराउन पनि आदेश गरेको छ । पीडितलाई उपलब्ध गराएको रकम सरकारले पीडकबाट उठाउन पनि आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको ०७० जेठ ७ गते बसेको इजलाशले टिष्टुङ गाविस ८ का ५३ वर्षीय मानबहादुर थोकरलाई २२ वर्षअघि पत्नी बिक्री गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले उक्त फैसला गरेको हो । टिष्टुङ गाविस २ की एक युवतीलाई विभिन्न प्रलोभन दिएर ०४८ सालमा विवाह गरेर मकवानपुरको पदमपोखरी हुँदै भारतको वेश्यालयका लगेर २ लाख रुपियाँमा बिक्री गरेका थिए । उनलाई बिक्री गर्दा दिदी हरिमाया, भिनाजु हर्कलाल र मानबहादुर साथमा थिए । उनीहरूले २ लाख रुपैयामा युवती बिक्री गरेर नेपाल फर्केका थिए । १५ वर्षसम्म ती युवतीले वेश्यालयमा नारकीय जीवन बिताइन् । भारत गुजरातका एक ग्राहकको सहयोगमा उनी वेश्यालयबाट ०६३ सालमा निस्किन सफल भएकी थिइन् । पाँच वर्षसम्म त्यही ग्राहकको घरमा बसिन् । ०६८ साल मंसिरमा त्यही ग्राहकको सहयोगमा उनी नेपाल फर्किन सफल भइन् । नेपाल आएपछि हेटौंडास्थित एक गैरसरकारी संस्थाको कार्यक्रममा आफ्नो घटना सुनाएपछि माइती नेपाल हेटौडा शाखाले थोकरलगायतको विरुद्धमा प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले थोकरलाई तत्काल पक्राउ गरेको थियो । हरिमाया र हर्कलाल फरार छन् । प्रताप विष्ट

0 Comments