छ लाख ८० हजार रुपैयाँ घुससहित झापा दमकको नापी कार्यालयका एक कर्मचारी सोमबार पक्राउ परेका छन्।
नापी कार्यालयका नापी सर्वेक्षक बिनोदकुमार मण्डललाई कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।
नापी सर्वेक्षक मण्डलले झापाकै कमला गाउँपालिकाको जग्गा प्लटिङ् गरि कारोबार गर्ने व्यापारीसँग नक्सा एकीकृत गर्न घुस लिने क्रममा पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले बताए । मण्डलले जग्गा व्यापारीसँग ‘तपाईहरु जग्गा कारोबार गरेर अथाहा आम्दानी गर्ने हामीलाई चाहि खोइ ?’ भनेर केही दिनअघि देखि पैसामा बार्गेनिङ् गरिरहेकोमा अख्तियारको टोलीले निगरानी गरेको थियो।
पक्राउ परेका मण्डललाई अब बयान लिएर मुद्दा चलाइने अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता डिएसपी रमेश बस्नेतले बताए । अख्तियारको टोलीले अहिले झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका सरकारी कार्यालयमा विशेष निगरानी थालेको छ ।
अख्तियारले कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका कार्यालयका कर्मचारीले ठूलो रकम आर्थिक हिनामिना गरेको आरोपमा छानबिन गरिरहेका बेला सरकारी कार्यालयलाई प्राथमिकतामा राखेको जानकारी दिइयो ।
यसैबीच, कोशी अञ्चल यातायात कार्यालय इटहरीका प्रमुखसहित पाँच जनाले ५५ करोडभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा कार्यालय प्रमुखसहित पाँच जनालाई निलम्बन गरेर छानबीन भइरहेको छ। कार्यालय प्रमुखसहित पाँच जनालाई बैसाख पहिलो साता निलम्बन गरेर छानबिन गरिरहेको बेला साताअघि पाँच हजार रुपैयाँ घुस लिदालिदै नायब सुब्बा बिनोद दाहाल पक्राउ परेका थिए। बिनोदको छानबिन टुंगिएर अब मुद्दा दायर हुने क्रममा रहेको अख्तियार क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।
५५ करोडभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा यातायात व्यवस्था विभागले निलम्बन गरेका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल द्दय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल तथा नायब सुब्बा टीकाप्रसाद बाँस्तोलाको मुद्दा दायर गर्न भने अनुसन्धान नटुगिएकाले गर्दा केही ढिलाई हुने भएको छ। त्यो घटनामा निलम्बनमा परेका चार जना सम्पर्कमा रहेपनि लेखापाल सुरेश अधिकारी भने फरार छन् । उनको खोजी गर्न प्रहरी टोली खटिइ सकेको छ।
यातायात व्यवस्था विभागले आर्थिक बर्ष २०७१/०७२ देखि आर्थिक बर्ष २०७३/०७४ को फागुन मसान्तसम्मको आर्थिक हिसाब हेर्दा ५५ करोडभन्दा बढी हिनामिना गरेको पत्ता लागेपछि कारबाही गर्न अख्तियारलाई पत्रचार गरेको थियो।