Incident Reports

प्रहरीले चलाएको गोलीबाट तीन घाइते l

2013-05-26

Sukdev Chaudhary सुनसरी । जेठ १२ गते दुहबिका स्थानीयहरूले राधा कामतको हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै ०७० जेठ १२ गते बजार र यातायात बन्द गराउने क्रममा प्रहरीले चलाएको गोली लागी तीन जना घाइते भएका छन् । आन्दोलित स्थानीयबासी र सद्भावना पार्टीका बन्दकर्ताहरू बजारमा प्रदशनमा उत्रेकाले भीड नियन्त्रण गर्न दुई राउन्ड गोली चलाएको प्रहरीले बताएको छ । बन्दकर्ताहरूलाई सडकबाट हट्नको लागि चेतावनी दिदा समेत प्रदर्शन नरोकिएकाले प्रहरीले चलाएको गोली लागि दुहबी गाविसका २८ वर्षीय विजय चौधरी, सोही ठाउँका तरकारी व्यवसाय मोहमद ४० वर्षीया जलिल मिया र २४ वर्षीय अरुण साह गम्भीर घाइते भएका हुन् । घाइते मिया र चौधरी दुई जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोही घटनामा स्थानिय मुकेश चौधरी, राकेश राम, पल्टन भट्टचार्य, दिनेश रौनियार, सदभावना पार्टीका केन्द्रीय सदस्य सुनिता विश्वास, रेखा थापा लगायत १२ जना सामान्य घाइते भएका छन् । शान्तिपूर्ण आन्दोलन दमन गरेको भन्दै प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सुरज खडकाको पुतला समेत जलाएको छ । प्रहरीले छ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ भने दुई राउण्ड गोली प्रहार गर्दा दुहवि तनावग्रस्त बनेको स्थानीय आषिश यादवले जानकारी दिए । घटनाको विषयमा समाचार सकंलन गर्न जाँदा स्थानीय पत्रकार चन्दन रौनियारलाई समेत प्रहरीले कुटपिट गरेको जनाइएको छ । रौनियार रिपोटिगं लागी जाँदा प्रहरीले २ लाठि हानेको बताए । यता सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले गोली चलेको विषयमा छानबिन भइरहेको तर यसको आधिकारीक पुष्टि हुन बाँकी रहेकेा प्रतिक्रिया दिए । दुहबी बजार बन्द गर्ने क्रममा प्रदर्शनकारीले एम्बुलेन्स को १ च ३३०५, को १ च ३६१०, को१ च ५९२५ बा २ च ४६४३ र जन्ती बोकेका बस बा १ ख ९९१६ अक्सिजन बोकेको ट्रक को १ ख ११३० नम्बरको सवारी साधन तोडफोड गरी क्षति पुर्‍याइएको जनाइएको छ । झडपका कारण दुहबी बजार र आसपास क्षेत्र तनावग्रस्त बनेको छ । सोही झडपमा परी सशस्त्र प्रहरीका हबल्दार विजय कार्की तथा जनपथ प्रहरी जवान समेत घाइते भएको प्रहरीले जनाइएको छ । सदरमुकाम इनरुवामा सद्भावना पार्टीका नेता कार्यकर्ताहरूले बजार बन्द गराइरहेको समयमा प्रहरी प्रशासनले हस्तक्षेप गर्दै नेता कार्यकर्ताहरूलाई गिरफतार गरेको छ । पार्टीका जिल्ला अध्यक्ष देवनारायण यादव, उपाध्यक्ष देवराम यादव मधेशी र रधुनाथ मेहतालाई प्रहरीले बन्द गर्ने क्रममा बस चौकबाट बिहान नियन्त्रणमा लिएको हो ।

0 Comments

Related Reports
Related Trend Analysis