Incident Reports

घूससहित इन्जिनियर पक्राउ

2017-06-25

सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेललाई घूस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । भेरीगंगा नगरपालिकाको छिन्चुस्थित एक होटलबाट खरेललाई ८७ हजार घूससहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । खानेपानी आयोजनाको पेस्की, कार्यसम्पन्न प्रतिवेदन, भुक्तानीको काम सजिलै गरिदिने भन्दै इन्जिनियर खरेलले उपभोक्तासँग घूस मागेका थिए । सापकोटाका अनुसार खरेलले घूस रकम कार्यालयकै खानेपानी सहायक टेक्निसियन दलबहादुर घर्तीलाई बुझ्न लगाएका थिए । घर्तीले बुझेको रकम इन्जिनियर खरेलले बुझदै गर्दा शुक्रबार राति अख्तियार टोलीले पक्राउ गरेको हो । रंगेहात घूससहित पक्राउ परेका खरेल र घर्तीमाथि आवश्यक अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउने अख्तियारको भनाइ छ । जिल्लामा सञ्चालित खानेपानी आयोजनाबाट प्राविधिकले कमिसन मागेको व्यापक गुनासो सुनिन थालेपछि अख्तियारले निगरानी बढाएको थियो । बाढीबाट क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि आएको करोडौं बजेटमाथि खानेपानी तथा सुपरिवेक्षण कार्यालयका प्राविधिकले भनेजति कमिसन नदिए फरफारक प्रतिवेदनमा ढिलाइ गर्ने गरेको गुनासो थियो । प्राविधिकको फरफारक प्रतिवेदनबिना भुक्तानी नहुने भएकाले आफूहरू कमिसन बुझाउन बाध्य भएको उपभोक्ताले गुनासो गर्दै आएका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis