Nepal Independent Students' Union-Revolutionary close to CPN led by Netra Bikram Chand has enforced an educational strike in Kathmandu on Tuesday. Private school educational sector has been affected due to the strike.
The strike was called for not reducing the school fee as per the agreement they made before.
विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मंगलबार आह्वान गरेको बन्दले राजधानीको अधिकांश निजी विद्यालय ठप्प बने । कुनै पूर्वजानकारी नदिई निजी विद्यालय बन्दको आह्वान गरेपछि राजधानीका हजारौं विद्यार्थी र अभिभावक अन्योलमा परेका थिए । कतिपय विद्यार्थी विद्यालय पुगेपछि बन्द थाहा पाए भने कतिपय अभिभावकलाई मोबाइलमा एसएमएसबाट विद्यालय बन्द हुने जानकारी दिएका थिए ।
संयुक्त विद्यार्थी आन्दोलनसित भएको सहमतिअनुसार शुल्क सीमा कार्यान्वयन नगरेकाले बन्दको आह्वान गर्नुपरेको क्रान्तिकारीका जीपी चौलागाईले बताए । ‘हाम्रो आह्वानमा उपत्यकाका निजी विद्यालय सौहाद्र्रपूर्ण र शान्तिपूर्ण बन्द भयो,’ चौलागाईले भने, ‘राज्यको नीति नियम कार्यान्वयनका निम्ति हो । पालना नगरेकैले तालाबन्दी र बन्द गर्नुपरेको हो ।’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विना जानकारी विद्यालय बन्द गरिएप्रति आपत्ति जनाएको छ । ‘शुल्क बढाएको भन्दै उपत्यकाका केही विद्यालयमा भएको तालाबन्दी र हडतालप्रति सरोकारवाला निकायसँग विना संवाद र जानकारी गरिने यस्ता कार्यक्रम समाधानमुखी नरहेको हामीले महसुस गरेका छौं,’ प्याब्सनले विज्ञप्तिमा भनेको छ, ‘अविलम्ब विना शर्त ताला खोजी वार्ता र संवादमा बस्न तथा हडताल फिर्ता लिन आयोजकप्रति अनुरोध गरिन्छ ।’ प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले विद्यालय बन्द गर्नै पर्ने स्थिति नभएको बताए ।
‘ऐनले तोकअनुसारको शुल्क लिएका छौं तर जबरजस्त बन्द गरिनुलाई राजनीतिक मुद्दाका रुपमा लिएको ठानेका छौं,’ विद्यालयलाई शान्ति क्षेत्र घोषणा भइसकेकाले प्याब्सन त्यसैको पक्षमा रहेको उल्लेख गर्दै ढुंगानाले भने, ‘हामी बन्द, हडताल, तोडफोडको विपक्षमा छौं । वार्ता र संवादका निम्ति समन्वय गर्दैआएकै हो । तर यसरी बन्द गरिनु मानवअधिकारको विपक्षमा छ ।’ यो वर्ष स्थानीय तहको निर्वाचनले वैशाखदेखि सुरु भएको शैक्षिक सत्र नियमित हुनसकेको छैन । राजनीतिक मागलाई लिएर गरिएको बन्दले विद्यालयको वार्षिक कार्यतालिका र बालबालिकाको पठनपाठनमा असर पुगेको छ ।