Incident Reports

लैंगिक हिंसा पीडितका लागि केन्द्र स्थापना l

2013-06-01

Manohar Kumar Pokharel सप्तरी । जेठ २१ गते राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जेठ १९ गते लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसाबाट प्रभावित महिला र बालबालिकाहरूमा पर्ने शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असरको एकीकृत र प्रभावकारी उपचार गर्न केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी हरीकृष्ण पौडेलले बताए । हिंसा पीडितहरूलाई उपचारका साथै उचित व्यवस्थापन गरी लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिएको केन्द्रले प्रभावित व्यक्तिहरूका लागि सुरक्षा, स्वास्थ्योपचार, कानुनी उपचार, मानसिक एंव मनोसामाजिक परामर्श, आश्रय, पुनर्स्थापना, सूचना शिक्षा तथा सशक्तिकरण सेवा आदि समेत बहुपक्षीय संयोजन प्रकृयाद्वारा प्रदान गर्नेछ । सरकारले प्रथम चरणमा सेवा केन्द्र रहेको सप्तरी, सुनसरी, सर्लाही, मकवानपुर, दाङ, जुम्ला, कञ्चनपुर, बाग्लुङ, पाँचथर, सोलुखुम्बु, तनहुँ, नवलपरासी, काभ्रेपलाञ्चोक, वर्दिया र डोटी जिल्लामा परीक्षणका रुपमा कार्यक्रम लागु गरेको हो । संक्रमणकालीन अवस्थामा महिला तथा बालबालिका उच्च जोखिम रहेको समयमा लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना हुनु सराहनीय भएको स्थानीयले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis