Incident Reports

अझै खुल्न सक्दैनन् द्वन्द्वपीडित

2017-09-18

Nepal

उनी १३ वर्षकी थिइन् । २०५६ भदौमा पहाडको गाउँबाट साथीसहित बेंसी झरिन् । त्यहाँ माओवादीको कार्यक्रम रहेछ । केहीबेर त्यहाँ बसेर स्वास्थ्य ठीक नभएकाले औषधि लिएर फर्किरहेकी थिइन् । बाटामा उनीसहित ३ जनालाई तत्कालीन विद्रोहीले बन्धक बनाएर लगे । र तीनै जनामाथि सामूहिक बलात्कार भयो । उनका बुबा राजनीतिमा सक्रिय थिए । घरमा ३/४ दिनपछि घटनाबारे थाहा भएछ, आँखा खुल्दा अस्पतालमा थिइन् । केही दिनपछि नै उनलाई परिवारबाट टाढा रहेका आफन्तकहाँ पठाइयो । त्यहीं उनले पढाइलाई निरन्तरता दिइन् । अहिले घटना भएको १८ वर्ष पुगिसकेको छ । तर, घटनाको झझल्को दिनहुँ आइरहन्छ । स्टोरी किचेन नामक संस्थाको कार्यक्रममा भेटिएकी उनले भनिन्, ‘सानै उमेरमा यौन हिंसामा परेकाले अहिलेसम्म पाठेघरमा समस्या छ । बन्दुकको कुनाले हानेकाले अहिलेसम्म पनि शरीरमा खत छन्, चोट दुख्छ ।’ उनले उच्च माध्यमिक तहसम्मको अध्ययन पूरा गरेकी छिन् । परिवारमा पति र बच्चा छन् । यो कुरा उनको माइतीबाहेक पति र घरमा कसैलाई थाहा छैन । अहिले उनी आफ्नो नाम र जिल्ला केही भन्न चाहँदिनन् । माओवादी युद्धमा पीडित भए पनि राज्यबाट क्षतिपूर्ति र द्वन्द्वपीडितको पहिचान चाहन्छिन् । तर आफूमाथिको घटनाबारे र अहिलेको स्वास्थ्य समस्याबारे खुलेर बोल्न सक्ने स्थिति छैन । पतिलाई थाहा भए सम्बन्ध टुट्ने डर छ भने सन्तानले पनि समाजमा अवहेलना भोग्नुपर्ने डर छ उनलाई । द्वन्द्वका बेला भएका यौन हिंसाका घटनाले अहिले पनि धेरै महिलालाई शारीरिक र मानसिक रूपमा पिरोलिरहेको छ । उनीहरू त्यस्ता घटनाबारे कोहीसँग खुुल्न सकेका छैनन् । कुटाइ र यातनाको कुरा गरिरहँदा यौन हिंसाबारे बोल्न चाहँदैनन् । आर्थिक अभावमा स्वास्थ्य समस्या लुकाएर बसिरहेका छन् । यस्तै अर्की पात्र हुन् शर्मिला (नाम परिवर्तन) । १४ वर्ष हुँदा २ दिदीबहिनी पढ्न जान्थे । ‘सेनाले हामीलाई माओवादी ठान्थ्यो,’ उनले भनिन्, ‘कहिले स्कुल जाँदा बाटोमा घेर्ने त कहिले स्कुलमै आएर धम्क्याउने गर्थे ।’ २०६३ जेठ २८ मा सेनाले माओवादी भनेर गिरफ्तार गर्‍यो । उनले शारीरिक यातना मात्र भोगिनन्, सेनाका कति जवानले कतिपटक बलात्कार गरे उनलाई याद छैन । अर्धचेत अवस्थामै सेनाको ब्यारेकबाट रातिमा बाहिर लगियो । छातीमा गोली हानियो र उनलाई नजिकैको नर्सरीमा फालियो । त्यसले गर्दा उनको करङको हड्डी भाँचिएको छ भने खुट्टा पनि काम नलाग्ने भइसकेको छ । हविलचियरको सहाराले हिँडडुल गर्ने उनी गर्वसाथ भन्छिन्, ‘त्यस्तो अवस्थाका बावजुद कहिल्यै मागेर खाएकी छैन ।’ तर द्वन्द्वकालमा भएको हत्या प्रयास र यातनाबारे बोले पनि उनले यौन हिंसाको कुरा न समाजमा भन्न सकेकी छन्, न त सन्तानलाई नै सुनाउन सकेकी छन् । ‘द्वन्द्वकालमा बालबालिकाको सुरक्षा गर्नुपर्ने निकायबाटै ममाथि अत्याचार भयो । मैले यस्तो राज्यसँग क्षतिपूर्तिको के अपेक्षा गरुँ ?’ उनको प्रश्न छ । घटनाको दशक नाघ्दा पनि शरीरले जतिपटक दुखेर सम्झाउँछ आफूमाथि किशोरावस्थामै भएको भयावह घटना सम्झिन्छिन् उनी । द्वन्द्वमा भएका यौन हिंसाले महिलाहरूमाथि दीर्घकालीन असर पारेको छ । तर सत्यनिरुपण तथा मेलमिलाप आयोगमा यससम्बन्धी कम उजुरी परेको द्वन्द्वपीडित सम्बद्ध संघसंगठनको भनाइ छ । यौन हिंसा भएकाहरूलाई जीविकोपार्जनमा कठिनाइ भइरहेको र उनीहरूमाथि द्वन्द्वको असर कायमै रहेकाले समाजसँग खुल्न नसकेको स्वयं पीडितहरू बताउँछन् । २०६८ मा राहत निर्देशिका बने पनि त्यसले यौन हिंसापीडितलाई समेटेको छैन । अछाम दरबारनजिककी महिला सुत्केरी अवस्थामै सेनाबाट बलात्कृत भएकी थिइन् । अहिले उनको पाठेघरमा समस्या भएको उनी बताउँछिन् । ‘त्यो बेला जे भयो त्यसले अझै गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘श्रीमान्ले पनि अर्की ल्याउने भन्नुहुन्छ ।’ द्वन्द्वकालमा माओवादी भनेर गाउँमा अन्य महिलाहरूमाथि पनि बलात्कार भएको र अहिले जन्मेका सन्तानमाथि पतिले शंका गर्ने उनले बताइन् । यहाँका धेरै द्वन्द्वपीडित विस्थापित भएका छन् । कलिलो उमेरमै यौन हिंसा तथा यातनाका घटनाले जीवनभर शारीरीक र मानसिक असर गर्ने मनोविज्ञ बताउँछन् । पति, परिवार भए पनि त्यस्ता घटनापछि तत्कालै मनोपरामर्श नपाएकाले व्यक्तिगत जीवनमा सधैं अशान्त अनुभव गर्ने मनोविज्ञ करुणा कुँवरको भनाइ छ । ‘अहिलेसम्म पनि त्यसता पीडितमा साइकोलोजिकल ट्रमाका लक्षण देखिन्छन्,’ उनी भन्छिन्, ‘मनको वह भन्न नपाएपछि त्यसले डिप्रेसनमा जाने सम्भावना रहन्छ ।’ सत्यनिरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झा आयोगले द्वन्द्वकालीन यौन हिंसाका घटनालाई संवेदनशील मान्दै गम्भीरतापूर्वक लिने बताउँछिन् । ‘आयोग यस्ता घटनाका दोषीलाई दण्डका लागि सिफारिस गर्न प्रतिबद्ध छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय कानुन, यूएनको मापदण्ड सबैलाई हेरी पीडितलाई राहत र न्याय दिने कार्यविधि बनिरहेको छ ।’ कार्यविधिमा पीडितको स्वास्थ्योपचार, पीडितको चाहनाअनुसारको क्षतिपूर्तिलगायत कुरा छन् । आयोगमा ५ सयको हाराहारीमा यौनजन्य अपराधका उजुरी परेका छन् । तर, आयोगले उजुरीकर्ताको सनाखत गरेपछि मात्र यकिन संख्या भन्न सकिने झा बताउँछिन् । यौन हिंसापीडितको उजुरी आयोगसम्म ल्याउन सक्नु र ती अपराध प्रमाणित गर्नु दुवै चुनौती रहेको बताउँदै भनिन्, ‘मुख्य कुरा त पीडितले यौन हिंसाका कुरा खुलेर बताउनै चाहँदैनन् । उजुरीमा यातना, कुटपिट, मानसिक तथा शारीरिक हिंसाजस्ता शब्द प्रयोग गरिएका छन् ।’ उनका अनुसार बलात्कार क्षमादान गर्न नसकिने अपराध भएकाले पीडितलाई पहिलेपरिपूरण दिनु र त्यसपछि मात्र दोषीलाई कारबाही गर्नु दोस्रोमा राखिनेछ । उनका अनुसार पीडितको गोपनीयतालाई ध्यानमा राख्दै त्यसैअनुसारको निर्देशिका र कार्यविधि बनाइएको छ । साथै पीडितलाई समस्या राख्न सहज होस् भन्ने उद्देश्यले सातै प्रदेशमा महिला विशेषज्ञलाई खटाइएको आयोगले जनाएको छ ।

0 Comments