Incident Reports

कुप्रथाविरुद्ध महिला

2017-11-01

वेदकोट नगरपालिका २ जडेपानीकी जानकी जोशी केही वर्षअघिसम्म महिनाबारी हुँदा गोठमै बस्थिन् । ४/५ दिनसम्म घरभित्र जान उनलाई अप्ठेरो लाग्थ्यो । अहिले महिनाबारी हुदाँ गोठ जान उनले छाडेकी छन् । सामान्य अवस्थाझै बस्न र खान पाउँछिन् । ४ दिनसम्म पानी पँधेरो र अरूलाई छुन भने उनकै मनले मान्दैन । जडेपानी क्षेत्रमा २/३ वर्षअघिसम्म मदिरा सेवनका कारण महिलामाथि अनेक किसिमका घरेलु हिंसा पनि हुन्थे । श्रीमानले मदिरा सेवन गरेर श्रीमतीलाई कुटपिट तथा गालीगलौज गर्नेलगायत घटना दिनहुँजसो भइरहन्थे । महिलाकै सक्रियतामा उक्त क्षेत्रमा मदिरानिषेध गरिएपछि अहिले घरेलु हिंसाका घटना पनि कम भएका छन् । अचेल घरेलु हिंसाका छिटफुट घटना मात्रै सुनिने गरेको स्थानीय महिला बताउँछन् । उनीहरूकै सक्रियतामा उक्त वडालाई मदिरा निषेधित गरिएको छ । ‘छाउपडीदेखि घरेलु हिंसाका घटना निकै कम भइसकेका छन्,’ जानकीले भनिन्, ‘नयाँ जनप्रतिनिधि आएलगत्तै वडालाई मदिरा निषेधित घोषणा गरेपछि होहल्ला कम भएको छ ।’ द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गरेपछि यहाँका महिलालाई कुरीति र हिंसाविरुद्ध लाग्न सहज भएको छ । ‘गाउँमा भएका धेरै छाउपडी गोठ महिलाकै सक्रियतामा ३/४ वर्षअघि नै भत्काइसक्यौं,’ स्थानीय सावित्री भट्टले भनिन्, ‘महिनाबारी भएका बेला अरूलाई नछुने, खाना नबनाउने, घरको दूध दही नखाने र अलग्गै बस्ने चलन भने अझै हटेको छैन ।’ उनले यस्तो चलन हट्न अझै केही सयम लाग्ने अनुमान गरिन् । स्थानीय स्वयंसेविका तथा स्वास्थ्यकर्मीले पनि महिनाबारी र प्रजनन स्वास्थ्यबारे महिलालाई बेला–बेलामा विभिन्न किसिमका जानकारी दिँदै आएका छन् । यसले पनि उनीहरूलाई एकजुट भई लाग्न सहज भएको छ । ‘महिनाबारी सामान्य प्रक्रिया हो भन्ने जानकारी हुनु सबैलाई आवश्यक छ,’ महिला समूहको बैठकमा जानकारी दिँदै परिवार नियोजनकी स्टाफ नर्स ज्योति विष्टले भनिन्, ‘यो कुनै खराब चीज होइन, महिनाबारी नियमित नभए महिलाको स्वास्थ्यमा राम्रो हुन्न ।’

0 Comments