Incident Reports

ओझेल परेको लालसराको मृत्यु- Amar Sunar's Oped on Chaupadi

2017-11-10

Karnali, Dailekh, Narayan

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ डाँडाटोलकी २४ वर्षकी लालसरा बिकको माइतीघर बिन्द्रासैनी–८ लयाटीगाउँ हो । उनको विवाह भएको ६ वर्षअघि हो । पाठेघर खसेको कारण गर्भ बस्ने तर २–३ महिनामै खस्ने समस्या भएकाले सन्तान नभएर उपचारका लागि उनका पति पदमबहादुर बिकले भारतको हिमाञ्चल, गढवालदेखि नेपालगञ्जका स्त्रीरोग बिशेषज्ञसम्म धाए तर सन्तान हुन सकेन । सन्तान जन्मन नसके पनि महिनावारी चाहिँ नियमित भइरहेको थियो, त्यही महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने कडा सामाजिक कुचलनका कारण २०७४ जेठ ८ गते राति छाउगोठमा सुतिरहेको बेला लालसरा बिकलाई सर्पले टोकेर उनको ज्यान गयो । लालसराको घर उनका छिमेकी नैनसिंह नेपालीको घरसँगै जोडिएको छाउगोठमा महिनावारी भएर एकै ओछ्यानमा सुतेका कौशिला नेपाली, पूर्णा नेपाली, सिरा नेपाली, तिला बिक र रेश्मा बिक भएका ठाउँमा लालसरालाई मध्य रातमा सर्पले टोक्यो । तर त्यो सर्पको टोकाई हो भन्ने उतीबेला ख्याल भएन । टोक्ने वित्तिकै टाउकोमा हात लाँदा चिसो र चिप्लो सानो छेऊ हातमा लाग्यो तर ठूलो माकुरो वा बिच्छी होला भन्ठानिन् लालसराले र आफूसँगै सुतेकी नन्द रेश्मालाई कुन्नि केले हो मलाई टोक्यो मात्रै भनिन् । नन्द फेरि निदाउथिन्, लालसराले मलाई गाह्रो भयो भनिसकेपछि रेश्माले घरमा फोन गरिन् । लालसराका ससुरा बिर्ष बिक र सासु रत्ना बिक त्यहाँ पुग्दा उनी छटपटाएकी देखेपछि छिमेकी युवालाई जम्मा पारेर राति ४ बजे जम्बुकाँधको एक निजी मेडिकलमा उपचारको प्रयत्न हुँदै थियो । मुखबाट फीँज निस्केपछि मेडिकलवालाले अस्पताल लैजान सुझाव दिएपछि एम्बुलेन्स मगाएर बिहान दुल्लू अस्पताल पुर्‍याए । त्यहाँबाट पनि सुर्खेत लैजान दुल्लू अस्पताले भनेपछि सुर्खेत लैजाने क्रममा गुँरास गाउँपालिकाको वडा नं. ४ सियाकोट पुग्दा लालसराले सास छाडिन् । एम्बुलेन्समै लास फिर्ता ल्याएर दुल्लू अस्पतालमा पोष्टमार्टम गरी लैनचौर पु¥याएर जेठ १० गते दाहसंस्कार भयो । लालसराका पति ३३ वर्षका पदमबहादुर बिक दुल्लूमा फर्निचरमा काम गर्ने भएकोले ९ गते बिहान लालसराको उपचार भइरहेको बेला जम्बुकाँधको मेडिकलमा भेटेका थिए । उनी अहिले पनि फर्निचरमै काम गर्छन् । पदमबहादुरका बुवा, आमा, दुई भाइ, १ बुहारी, १ बहिनी र माइलो भाइका २ छोरासमेत ९ जनाको संयुक्त परिवार छ । त्यो घटनाको डेढ महिनापछि २०७४ असार २२ गते राति चामुण्डा बिन्द्रासैनी नगरपालिकाकै वडा नं. ६ लैनचौरकी १९ वर्षकी तुलसी शाहीलाई पनि छाउगोठमा सर्पले टोकेर ज्यान गएको घटनाले धेरै चर्चा पायो तर यो घटनाको १५ दिनपछि मात्र महिला तथा बालबालिका कार्यालय दैलेखमा सूचना आएकोले लालसराको ज्यान गएको घटनाले चर्चा पाएन । तर लालसराको ज्यान गएपछि तुलसीको घटना भएकोले यसको सूचना पनि छिटो प्राप्त भयो र एकै चोटी स्वदेशी तथा बिदेशी मिडियामा स्थान पायो । तुलसी शाहीलाई राति १० बजे सर्पले टोकी सकेपछि २ फरक फरक ठाउँका धामी झाँक्री कहाँ लिएर झारफुकमा समय खर्चेर बिहान मात्र जम्बुकाँध मेडिकलमा लिएका र भोलिपल्ट दिउँसो मात्र दुल्लू अस्पताल लैजाँदै गर्दा पादुका पुग्दा तुलसीको ज्यान गयो । लालसरा आर्थिक रुपमा गरिब र ज्ञान चेतनाको हिसावले पछाडि दलित समुदायकै भए पनि परिवारजनले उपचारमा तत्परता चाहिँ राम्रै जनाएको देखिन्छ । लालसराकी नन्द अमृता बिकको ‘डायलिङ्ग कीप्याड’वाला सामान्य मोबाइलमा रहेको धमिलो तस्बिरबाहेक परिवारजन, आफन्त र साथीहरुसँग अहिले उनको सम्झनामा हेर्ने तस्बिरसम्म छैन ।
National/Online Media

0 Comments