Incident Reports

पूर्वअर्थमन्त्री पुन चढेको गाडी लक्षित एम्बुस विस्फोट, मानवीय क्षति भएन

2017-11-11

Lumbini, Rolpa, Madi, Ward 1

वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगर सवार गाडीमाथि शनिबार एम्बुस राखिएको घटनापछि घटनास्थलमा थप सुरक्षाकर्मी परिचालित भएका छन् । पुन सवार बा १५ च ८६२८ नम्बरको स्कारपियो जिप लक्षित गरेर शनिबार मध्यान्ह माडी गाउँपालिका-१ भिताबाङ गाउँ नजिकैको पेदीखोलामा एम्बुस राखिएको हो । प्रहरीका अनुसार उम्मेदवार तथा माओवादी केन्द्रका नेता पुनलाई लक्षित गरेर एम्बुस पारिएको हुन सक्ने अनुमान छ । पुन एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनअन्तर्गत माओवादीका तर्फबाट प्रतिनिधिसभाका एक्ला उम्मेदवार हुन् । माडी गाउँपालिकाको केन्द्र घर्तीगाउँदेखि करिब २ किलोमिटर पश्चिमको ओतमा उक्त घटना भएको हो । संयुक्त वाम गठबन्धनका तर्फबाट अघिल्लो दिन सुकीदह गाउँपालिकाको जिनाबाङमा चुनावीसभा सकेर राङ्सी जाने क्रममा घर्तीगाउँतिर फर्कंदै गरेका बेला अज्ञात समूहले पुन सवार गाडीलाई लक्षित गरेर एम्बुसमा पारेको प्रहरीले जनाएको छ । घटनास्थल रोल्पा सदरमुकाम लिबाङबाट करिब ३० किमि पश्चिममा पर्छ । थप अनुसन्धानका लागि घटनास्थल पुगेका रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले घटनाबारे अनुसन्धान थालिएको र थप सुरक्षाकर्मी परिचालित गरिएको बताए । घटनापछि जानकारी दिन प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई पनि सदरमुकाम लिबाङबाट घर्तीगाउँ पुगेका छन् । उम्मेदवार पुनको टोलीको सुरक्षा गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खटाइएको छ । पुनसँगै प्रदेशसभाका उम्मेदवार दीपेन्द्रकुमार पुनसहित समानुपातिक उम्मेदवारहरु जयपुरी घर्तीमगर, हरिसरा घर्तीमगर एमालेका समानुपातिक उम्मेदवारद्वय कुमार दशौदी र ईश्वरी घर्तीमगर समेत छन् । टोलीमा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, एमाले अध्यक्ष हरिप्रसाद घर्तीमगर र माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र घर्ती समेत छन् । पुन सवार गाडीलाई बीचमा पारेर प्रहरीले स्कटिङ गरे पनि एम्बुसको लक्ष्य पुनको गाडीमाथि नै थियो । घटनापछि स्थिति तनावपूर्ण बनेको स्थानीवासीले बताएका छन् । घटनामा मानवीय क्षति नभए पनि जिपमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले दर्जन पटक भन्दा बढी गोली चलाएको थियो । एम्बुस राख्नेको खोजी जारी राखिएको प्रनाउ फुयालले बताए । घटनाले निर्वाचन अभियान रोकिँदैन : वाम गठबन्धन घटनापछि केहीबेर घर्तीगाउँमा रोकिएको संयुक्त वाम गठबन्धन टोली नियमित अभियानअन्तर्गत निर्वाचन अभियानका लागि राङ्सी गाउँमा पुगेको छ । राङ्सीमा शनिबार सभा आयोजना गरिएको छ । संयुक्त निर्वाचन प्रचार प्रसार समिति संयोजक एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद गोकुलप्रसाद घर्तीमगरले एम्बुस विस्फोटपछि पनि चुनावी गतिविधि जारी राखिएको बताए । ‘हामीलाई तर्साउने उद्देश्यले गरिएको विस्फोटबाट हामी आत्तिएका छैनौं । हाम्रो अभियान रोकिँदैन ।’ उनले यसअघि नै तय भएका कार्यक्रम सम्पन्न गर्ने योजना नफेरिएको बताए । वाम गठबन्धनले आइतबार दुईखोली गाउँपालिकाको इरिबाङ बागमारामा चुनावी सभा आयोजना गरिएको र सभालाई सम्बोधन गर्न पुन सम्मिलित टोली पुग्ने उनले बताए । वाम गठबन्धनको टोली २७ कात्तिकमा थबाङ पुगेर निर्वाचन अभियान चलाउने योजनामा छ । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । निर्वाचन गतिविधिमा अवरोध पुर्‍याउन खोजेको आरोपमा प्रहरीले केही दिनअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रोल्पा इन्चार्ज दलबहादुर खत्री र सचिव सन्तोष सुवेदीलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै नेकपाका कार्यकर्ताले प्रतिक्रियास्वरुप एम्बुस विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवारी दिएका पुनले घटनाप्रति दु:ख व्यक्त गर्दै आफूहरुको हत्या गर्ने योजनासहित बम विस्फोट गराइएको बताएका छन् । यसबाट आफूहरु विचलित नभएको र निर्वाचन प्रचार अभियान नरोकिने समेत उनले बताए । ‘उम्मेदवारहरुको हत्या गर्ने योजनाले सडकमा एम्बुस विच्छ्याएर विस्फोट गराइएको छ ।’ पुनले प्रतिक्रिया दिए, ‘हामी बाँच्न सफल भयौं । तर यो विस्फोटले हाम्रो निर्वाचन अभियान रोकिँदैन ।’ घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न र उम्मेदवारहरुको सुरक्षामा गम्भीर ध्यान दिन पुनले सरकारलाई आग्रह गरे । आपराधिक क्रियाकलाप बन्द गर्न सम्बन्धित पक्षलाई पुनले चेतावनी समेत दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports