Incident Reports

मधेसको काँडो– दहेज

2017-11-22

Nepal

पर्साका एक पढालेखा मित्रले बहिनीको बिहेको कुरो छिने । कुरोसँगै २० लाख रुपैयाँ दहेज दिने निर्णय छिने । केटा पक्षका आफन्त आएर दुई दिन लगाई वार्ता गरे । ‘मुश्किलले २० लाखमा झारियो’, ती मित्रले सुनाए, ‘सुरुमा त ३० लाख भनेका थिए ।’ केटा इन्जिनियर भएकाले त्यति मात्र दिनुपर्ने भयो । त्यसअघि एकजना डाक्टरको कुरा आएको थियो । उनका आफन्त ४० लाखभन्दा तल झर्दै झरेनन् । युवतीका आफन्त २५ लाखभन्दा माथि जान सकेनन् । अन्तत: कुरो मिलेन । युवायुवती मन परापर भए पनि बिहे सम्भव भएन । महोत्तरीका एक प्रहरीले छोरीलाई राम्रो शिक्षा दिए । अंग्रेजीमा राम्रो नम्बर ल्याएर उनकी छोरीले स्नातकोत्तर गरिन् । उनलाई अहिले ठूलो पिरलो छ– छोरीका लागि उपयुक्त जोडी भेटिँदैन । पढेको व्यक्तिले गतिलो गरी दहेज माग्छ । ‘२०–२५ लाखभन्दा तल त कसैले कुरै गर्दैन’, उनले भने, ‘त्यति पैसा जुटाउने मसँग कुनै उपाय छैन ।’ मधेसमा धेरैले छोरीलाई नपढाउनुको कारण उनी बल्ल अनुभूत गर्दैछन् । नपढाए सामान्य मान्छेसँग बिहे गराइदिए भयो, दहेज थोरैले चल्ने भयो । त्यही भएर छोरालाई डाक्टर, इन्जिनियर बनाए पनि छोरीलाई अक्षरै नचिन्ने हालतमा राख्ने धेरै हुन्छन् । मधेसका जिल्लाहरूमा दहेज ठूलो रोग बनिरहेको छ । गाई, बाख्रा बेच्ने बजारजस्तो मान्छेको मोलतोल हुन्छ । यसमा जग्गा ब्यापार र वैदेशिक रोजगारका जस्तै बिचौलिया हुन्छन् । युवतीका आफन्तसँग मोलमोलाइ गर्छन् । ठूलो मूल्यबाट सुरु गरेर अलि तलसम्म झर्न पनि सक्छन् । कसैले त जति गरे पनि झर्न मान्दैनन् । यहाँ कुनै पनि बाबु–आमाका लागि छोरो जन्मिनु धन हो भने छोरी जन्मिनु ऋण । हेर्दा दहेज निरन्तरको परम्परा भए पनि मधेसको सामाजिक, आर्थिक एवं पारिवारिक दुरवस्थामा यो मुख्य कारक बनेको छ । छोरी पढाउन यसले एकातिर निरुत्साहन गरेको छ भने अर्कातिर मधेसी समुदाय क्रमश: गरिब हुँदै जानुको कारण यही हो । सामान्यत: औसतभन्दा बढी सन्तान जन्माउने यस समुदायमा हरेक छोरीको बिहे टाउकामा तरबार झुन्ड्याएजस्तो हुन्छ । कि जग्गाजमिन बेच्नुपर्छ, कि सयकडा ३६ प्रतिशत ब्याजमा साहुको ऋण नै काड्नुपर्ने हुन्छ । ऊ टाट पल्टिँदै जान्छ । आज बेचेको जग्गा ५ वर्षमा २० गुणा महँगो हुन्छ । किन्नेहरू करोडपति हुन्छन्, छोरीका बाबुआमा कंगालपति हुन्छन् । दहेज यस्तो अर्को विकृति हो, जसले पारिवारिक भेदभाव मात्र होइन, सामाजिक खाडल निर्माण गर्छ । छोरीलाई बिहेमा खर्च गर्नुपर्ने भएकाले पढाउन नसकेको अभिभावकको तर्क सुनिन्छ, तर त्यसले मानवीय विकासमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । अर्कातिर छोराका लागि बाबु–आमाले जेजति खर्च गरेका हुन्छन्, बिहेमा बुहारीबाट उठाउने मनोभावना हुन्छ । कुनै युवती कुनै घरमा दुलही बनेर भित्रिँदा सम्मानित सदस्यका रुपमा होइन, किनिएको वस्तुको हीनग्रस्त भावना लिएर पस्नुपर्ने हुन्छ । मधेसी समुदायमाथि अन्य समुदाय हाबी हुने, ऋणी बनेर छिरेर साहु बनेर निस्किने कारणमा दहेजको हात छ । मधेसी मूलका अधिकांश कर्मचारीले मन खाएकालाई मन खोलेरै भन्ने गरेका हुन्छन्– छोरीको बिहेका लागि खर्च जुटाउनु छ, जसरी भए पनि कमाउनुछ । आखिर औकातभन्दा माथि खर्च गर्नुपर्ने बाध्यताले अनैतिक आर्जनलाई बढावा दिन्छ । मधेसका युवामा दहेजविरोधी भावना क्रमश: विकास नभएको होइन, तर अभिभावकका अगाडि उनीहरू मौन रहनुपर्ने बाध्यता छ । बिचौलियाले अभिभावकलाई लान्छन् । उनीहरूले ‘डिल’ गर्छन् । बेहुला–बेहुली हुने व्यक्तिले त्यसभित्रको लेनदेन थाहा पाउँदैनन् । एकजना डाक्टरका बुवा सरकारी सेवामा रहेछन् । उनले छोराका लागि ३८ लाख रुपैयाँ दहेज छिनेछन् । युवतीका अभिभावकले बैंक खातामा हालिदिने भनेछन् । खातामा सीधै पैसा राख्न लगाउँदा स्रोत पहिचान नहुने, अख्तियारको फन्दामा परिनेजस्ता कारण उनले नगदै लिएर आउन भनेछन् । ‘जनकपुरबाट बीगरगञ्जसम्म गाडी रिजर्भ गरेर सुरक्षासहित पैसा लिएर जानुपर्‍यो’, युवतीका दाइले घटना सुनाए, ‘पैसा नभई पनि नहुने, राज्यको डरले थुरथुर पनि हुनुपर्ने । कस्तो दोहोरो बिकृति ?’ दहेजकै विकृतिका कारण मधेसमा छोरी परिवारका धेरै अधिकारबाट बञ्चित हुन्छन् । पहिल्यै परीक्षण गरेर छोरी भए गर्भपतन गराउने प्रचलन पनि यही कारण बढ्दो छ । लगातार छोरी जन्माउने महिलालाई परिवारबाट दुव्र्यवहार र दुर्वचन सुरु भइहाल्छ । अनेक लाञ्छना लगाएर कतिपय परिवारमा त यातना नै दिन्छन् । त्यतिबेला उनीहरूले के बिर्सिसकेका हुन्छन् भने– आफूले गाली गरिरहेकी महिला पनि कुनै दिन ठूलो मात्रामा दहेजसहित यस घरमा भित्रिएकी पात्र हो । बुहारीका अभिावकसँग दाइजोमा कस्नेहरू आफ्नी छोरीलाई चाहिँ सकेसम्म कम दिन खोज्छन् । छोरै मात्र जन्मियोस्, सम्पत्ति ल्याओस् मात्र भन्ने भावना हुन्छ । दहेजकै कारण गरिब झन् गरिब हुने र एकदिन सुकुम्बासी बन्ने अवस्था आउने छ । जब दाइजो तय गरिन्छ, बैनाबापत निश्चित रकम भुक्तानी गरिन्छ । बाँकी बिहेअघि नै दिइसक्नुपर्छ । कथंकदाचित जुटाउन नसक्दा बिहे नै बिथोलिएका घटना पनि छन् । कतिपय अवस्थामा ब्याजसहित यति समयपछि दिने भनी लेनदेनको तमसुकै गरिएको पनि पाइन्छ । यस्ता घटनाले समाज बिग्रिँदै जान्छ । मधेसी समुदायबाट यो काँडो नझिकुन्जेल यहाँको प्रगति असम्भव छ । तर, कुनै पनि राजनीतिक दल र उम्मेदवारले ‘दहेज हटाउने’ विषयलाई एजेन्डा बनाउन सकेका छैनन् । नेताहरू बरु ढुक्कै भन्छन्– दहेज हटाउँछु भन्यो भने भोट डामाडोल हुन्छ, कसले भनोस् ? थाहा छैन, यो रोग कहिले निको हुने हो ?
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis