Incident Reports

विद्यार्थीलाई पिटेको आरोपमा शिक्षिका विरूद्व जाहेरी दर्ताl

2013-07-05

INSEC Mid-Western Regional Office नेपालगञ्ज । ०७० असार २१ गते एक विद्यार्थीको आँखाको ज्योती गुम्ने गरी पिटेको आरोपमा भेरी जोन अंग्रेजी बोर्डिङ्ग स्कुल हिर्मिनियाकी शिक्षिका आराधना रानाका विरूद्व असार २१ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । शिक्षिका रानाका विरूद्व सिविन नेपाल-बालहेल्प लाइन, इन्सेक, एडभोकेसी फोरम, बाँके युनेस्को क्लव र हिमराईट्सले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय बाँकेमा अङ्गभङ्गको मुद्दा दर्ता गराएका हुन् । जाहेरवालाहरूले शिक्षिकाको कुटपिटबाट ८ वर्षीय अजय धोबीको देब्रे आँखा पूर्ण रूपमा देख्न नसक्ने भएको भन्दै आरोपितलाई मुलुकी ऐन कुटपिटको महल बमोजिम हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् । उक्त विद्यालयको नर्सरी कक्षामा अध्ययनरत धोबीलाई गृहकार्य दिने क्रममा हल्ला गरेको भन्दै शिक्षिका रानाले असार ९ गते कितावले हिर्काउँदा बालकको देव्रे आँखाको ज्योती गुमेको थियो । उनको प्राथमिक उपचार नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालमा भएको थियो । आरोपित शिक्षिकालाई प्रहरीले असार २० गते गिरफ्तारी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रेमबहादुर बस्नेतले जानकारी दिए । इन्सेक, सिविन बाल-हेल्पलाइन, बाँके युनेस्को क्लब, बेस लगाएतका संस्थाहरूको सहयोगबाट घाइते बालकको थप उपचार काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा भइरहेको छ । इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालय, नेपालगञ्ज

0 Comments