Incident Reports

प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको गुनासो l

2013-07-05

Durga Thapa सुर्खेत । ०७० असार २१ गते जातीय छुवाछुतका आधारमा विभेद गर्नुका साथै आफूहरूलाई कुटपिट गरेको भन्दै मटेला-९ काँडाभुवानीका गोविन्द विक र पूर्णबहादुर विक न्याय माग्न जिल्ला प्रहरी कार्यालय सुर्खेत आइपुगेका छन् । यही असार १२ गते बेलुका गोविन्द र उनका साथीहरूले मटेला-६ ठाँटी बजारमा साथी-साथीबीच कुराकानी गरिरहेको अवस्थामा मटेला-९ कै गणेश जिसीले बिनाकारण गालीगलौज तथा अभद्र व्यवहार गरेको उनीहरूले बताए । गोविन्दले आफूहरूले साथी-साथीका बीचमा कुराकानी गरिरहेका बेला जिसीले तल्लो जातको मान्छे भएर पनि बजारमा आएर हल्ला गर्ने भन्दै गालीगलौज गरेको उनीहरूको भनाइ छ । गोविन्दले भने, “तिमी डुमहरू यहाँ आएर गफ गर्ने भन्दै धकेलधाकल गर्नुको साथै घरतिर जान लाग्दा जिसी डोरप्रसाद शर्मा, वीरबहादुर जिसी र हेमराज शर्मा लगायतले आफूहरूलाई मराणासन्न हुने गरी कुटपिट गरे ।’ आफूहरूलाई यसरी कुटपिट गर्दा स्थानीय प्रहरी चौकीका प्रहरीहरूले मुकदर्शक बनेर हेरिरहेको उनीहरूको गुनासो छ । आफूहरू तीन जना मात्रै भएको र जिसी सहितको समुहले जति कुट्दा पनि आफूहरू कुटाई खानबाहेक अरु केही गर्न नसकेको उनीहरूको भनाइ छ । जातीय विभेदकै कारण आफूहरूलाई यसरी कुटपिट गरेको भनी ०७० असार २० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरीसमेत दर्ता गरेको छैन । प्रहरीले स्थानीय प्रहरीलाई निवेदन दिएर मात्रै जिल्लामा आउनुपर्ने भन्दै जाहेरी दर्ता गर्न नमानेको पीडितहरूले बताए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis