Incident Reports

महिनावारी हुँदा शौचालय जान पाइदैन ।

2017-11-27

Sudurpashchim, Achham, Kamalbazar

नन्देगडाकी १६ वर्षीया रमिता साउँदको घरमा शौचालय बनेको छ । घरका सबै सदस्य सधैं शौचालय नै प्रयोग गर्छन्, तर रमितालाइ भने महिनामा पाँचदिन शौचालय प्रयोग गर्ने अनुमति छैन । त्यसो हुनुको एउटै कारण हो उनी महिनावारी हुने गर्छिन् । महिनावारी भएको समयमा उनी घरभन्दा टाढा बनेको गोठमा बस्छिन् । त्यो समयमा उनले शौचालय प्रयोग गर्न पाउदिनन् । महिनावारी भएको समयमा दिसापिसाब गर्न जंगल र खोलामा जानु परेको उनले सुनाइन् । ‘महिनावारी भएको समय घर नजिकै आउन समेत पाइँदैन, रमिताले भनिन्, ‘घर परिवारले महिनावारीहुँदा शौचालय प्रयोगमा रोक लगाएको छ ।’ रमिता मात्र होइन अछाममा महिनावारी हुने मध्येका करिव ६४ प्रतिशत महिला महिनावारी भएको समयमा शौचालय प्रयोग गर्नबाट बञ्चित हुने गरेको तथ्याङ्क जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग छ । महिनावारी भएको समयमा अधिकांश महिला घरदेखि टाढा गोठमा बस्ने भएकाले त्यो बेला शौचालय समेत प्रयोग गर्नबाट बञ्चित हुने गरेको समितिले हालै गरेको अध्ययनबाट पाइएको जिल्ला समनवय समितिका प्रवक्ता कृष्णप्रसाद जैसीले जानकारी दिए । जिल्लामा पछिल्लो समय छाउपडी गोठमुक्त अभियान चले पनि अधिकांश महिला अहिले पनि महिनावारी हुँदा गोठमै बस्ने र दिसापिसाव पनि खुला ठाउँमै गर्ने प्रचलन रहेको उनले बताए । विभिन्न गलत सामाजिक मूल्यमान्यता र कुसंस्कारका कारणले अहिले पनि अछाममा अधिकांश महिला महिनावारी हुँदा घरदेखि टाढा गोठमै बस्नेगरेका छन् । खुला दिसामुक्त घोषणा भएको अछाममा महिनावारी भएको समयमा करिब ६४ प्रतिशत महिला शौचालय प्रयोग गर्नबाट वञ्चित हुनु नै पूर्ण सरसफाइ जिल्ला नबन्नुको मुख्य चुनौती भएको महिला तथा बालबालिका कार्यालयकी मञ्जु महत बताउँछिन् । (नेपालगञ्जबाट प्रकाशित नागरिक पश्चिमेलीबाट)
National/Online Media

0 Comments