Incident Reports

मानव बेचबिखन गर्नेको नाममा किटानी जाहेरी l

2013-07-14

Narendra Singh Karki दार्चुला । ०७० असार ३० गते एक १७ वर्षीय बालिकालाई बेचबिखन गरेको आरोपमा लटिनाथ ८ का ४० वर्षीय दानसिंह धामीको नाममा जिल्ला प्रहरी कार्यालय दार्चुलामा किटानी जाहेरी परेको छ । पीडित बालिकाले कब्जाबाट मुक्त भएपछि आरोपित धामीको नाममा जाहेरी दिएकी हुन् । जेठ ५ गते खण्डेश्वरीको धरमघरमा यार्सा संकलनको लागि पुगेकी ती बालिकालाई उपचार गर्न भन्दै धामीले धारचुला पुर्‍याइएको पीडितले बताइन् । आर्थिक समस्याका कारण उपचार गर्न नसकेका ती बालिकालाई धामीले उपचार गर्ने नाममा धारचुला पुर्‍याएको पीडित पक्षले आरोप लगाएको छ । धारचुला कालिकाको बजानी ठाउँका एकजना भारती सैनिकसँग विवाह गर्न पठाई आफूलाई बिक्री गर्न खोजेको पीडितले उल्लेख गरेकी छिन् । आफू सैनिककहाँ बेचिएको थाहा पाएपछि उनले असार १५ गते आफ्नो दाजुलाई फोन गरी उद्धार गर्न आग्रह गरेकी थिइन् । उनलाई दाजुले उद्धार गरी दार्चुला पुर्‍याएपछि निवेदन दिएकी हुन् । पीडित बालिकाको निवेदन जिल्ला प्रहरी कार्यालयमा दर्ता हुन सकेको छैन । डिएसपी कुवेर कडायतका अनुसार दुवै पक्षबीचको छलफलपछि मुद्दा दर्ता गरिने बताए । गम्भीर प्रकृतिको केस पहिलो पटक परेका कारण दुवै पक्षबीच छलफल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । दुवै पक्षलाई असार ३० गते जिल्ला प्रहरी कार्यालय बोलाएको भएपनि पीडित पक्ष उपस्थित नहुँदा छलफल हुन नसकेको इन्सपेक्टर गणेशबहादुर बमले बताए । मानव वेचबिखनसम्बन्धी जिल्ला प्रहरी कार्यालयमा पहिलो पटक निवेदन परेको हो । बालिकाले असार २९ गते महिला तथा बालबालिका कार्यालय दार्चुलामा आर्थिक सहयोगको लागि निवेदन दिएकी छिन् । उनलाई खान बस्नै समस्या भएपछि महिला तथा बालबालिका कार्यालयले २ हजार रुपियाँ खर्च दिने निर्णय गरेको महिला तथा बालबालिका कार्यालयका अधिकृत शान्ति विकले बताइन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठकले पीडितलाई सहयोग गर्ने निर्णय गरेको विकले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको अध्यक्षतामा असार ३० गते बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । नरेन्द्रसिह कार्की

0 Comments