Incident Reports

बलात्कार मुद्दा दर्ता गर्न अदालतको आदेश l

2013-07-15

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel सप्तरी । ०७० असार ३१ गते पुनरावेदन अदालत राजविराजले बलात्कार प्रयासको मुद्दा दर्ता गरी कानुनी प्रकृया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय कञ्चनपुरका नाममा असार ३० गते परमादेशको आदेश जारी गरेको छ । पुनरावेदन अदालतका मुख्य न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टेकराज नेपालको संयुक्त इजलाशले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी कानुनी प्रकृया अगाडि बढाउन आदेश जारी गरेको अदालतका शाखा अधिकृत रितबहादुर पुलामीले जानकारी दिए । बलात्कार प्रयासको घटनामा प्रहरीले मुद्दा दर्ता नगरी पीडकको संरक्षण गरिरहेको आरोप लगाउँदै पीडित बालिकाका पिताले ०६९ फागुन १५ गते अदालतमा प्रहरी र प्रशासनविरुद्ध निषेधाज्ञा मिश्रित परमादेशको रिट दायर गरेका थिए । प्रसवनी गाविस-९ का २२ वर्षीय रोशनकुमार मण्डलले ०६९ माघ ११ गते राती ८ बजे आफ्नी १४ वर्षीया छोरीलाई बलात्कारको प्रयास गरेको आरोप पीडितका पिताले लगाउँदै आएका छन् । घरमा बसेर पढिरहेकी छोरीमाथि बलात्कारको प्रयास गर्ने आरोपी विरुद्ध दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनपुर र महुली प्रहरी चौकीले दर्ता नगरेपछि पीडितका पिताले नागरिक अधिकार ऐन २०१२ बमोजिम अदालतमा परमादेशको रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका तत्कालिन एसपी संजयसिंह बस्नेतले बलात्कार प्रयास नभई कुटपिटको उक्त घटना प्रहरी चौकी महुलीमा मिलापत्र भइसकेको बताएका थिए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis