Incident Reports

देउतालाई खुशी पार्न मन्दिर चढाइएका देउकीका दुःख कसले देख्छ ?

2017-12-30

Sudurpashchim, Baitadi, Pancheshwar

झट्ट हेर्दा बिहे गरेजस्तै देखिन्छिन् । पोते चुरा सबै गरगहना लगाएकी छिन् । तर उनको बिहे भएको छैन । बिहे गरेर घरजम भएजस्तै देखिने बैतडीको सुर्नया गाउँपालिका भौनेलीकी जानकी धामी देउकी हुन् । उनको उमेर ३० वर्ष भयो । १२ वर्षको उमेरमा उनका आमाबुवाले देवतालाई खुशी पार्न भन्दै मन्दिरमा चढाउन जानकीलाई दिए । सानै भएकाले उनले केही कुरा थाहा पाइनन् । गाउँका मान्छेले उनलाई गाउँ नजिकै रहेको भौनेली मन्दिरमा देउकीको रुपमा चढाए । ३० वर्षको उमेरमा अहिले उनी मन्दिरको रेखदेख गरेर बसेकी छिन् । भाकल अनुसार उनलाई मन्दिरमा चढाएपछि उनले विवाह गर्न पाइनन् । बैतडी जिल्लामा कुप्रथाको रुपमा रहेको देउकी प्रथा पछिल्लो समय हट्दै गए पनि जानकी जस्ता देउकीहरु अहिले पनि रुँदै जिन्दगी बिताइरहेका छन् । देउतालाई खुशी पार्न ५ बवर्ष भन्दा माथि महिनावारी नभएकी कन्यालाई मन्दिरमा चढाउने चलन बैतडीलगायत, डडेल्धुरा, दार्चुला डोटीमा रहेको छ । पछिल्लो समयमा बिस्तारै हट्दै गए पनि पहिले नै मन्दिरमा चढाइएका जानकीजस्तै अन्य देउकीहरु अहिले समस्यामा छन् । मन्दिरमा चढाएका देउकीहरुसँग कसैले बिहे गर्दैनन् । उनीहरुसँग बिहे गरे देउता रिसाउँछन, अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको छ । विवाह नभए पनि देउकीहरु यौन शोषणमा पर्ने गरेका छन् । मन्दिरको पुजारी गाउँकै ठूलाबडाले मन्दिरमा चढाइएका देउकीमाथि यौन शोषण गर्ने गरेको समाचारहरु सार्वजनिक हुने गरेको छ । मन्दिरको नाममा महिलामाथि यसरी हिंसा भइरहँदा पनि पीडितहरु बोल्न सक्दैनन् । घरपरिवारबाट किनेर मन्दिरमा चढाइसकेपछि उनीहरुलाई आर्थिक समस्या हुँदा आफैँलाई बेच्न बाध्य हुन्छन् भने कतिपय देउकीलाई जबरजस्ती यौनशोषण गर्ने गरेका छन् । देउकीसँग बिहे कसैले नगरे पनि उनीहरुबाट ५, ६ वटासम्म सन्तान जन्मिएको पाइन्छ । तर जानकी धामी देउकीका भने सन्तान छैनन् । उनी माइतीघरमा बस्दै आएकी छिन् । पुजापाठ मेला लागेपछि मन्दिरको काममा व्यस्त रहने जानकी अघिपछि माइतिघरमा भाइ, बुहारी, भाउजुलाई काममा सहयोग गर्छिन् । मन्दिरमा चढाएका आमा बुवा मरेर गएपछि आफूलाई समस्या भएको उनले बताइन् । आफूसँगैका दिदीबहीनीले घर–माइत गरेको देख्दा उनलाई पनि निकै रहर लाग्छ । तर देउकीसँग कसैले बिहे गर्दैनन् । ‘३० वर्षको कलिलो उमेरमा मन्दिरको सरसफाइ गरेर दिन बिताउँदा कम्ति दुःख लाग्दैन् । मरौँ भने पनि समाजले अनेक कुरा काट्न थाल्छ । बाचौँ भने पनि कसरी बाँच्नु आमा बुवा भए पनि घरमा बस्न सजिलै हुन्थ्यो ।’ जानकीले रुँदै भनिन्, ‘लाउँखाउँ भन्ने उमेरमा मन्दिरमा गएर बस्न बाध्य भएको छु । बा आमा मरेर गए मलाइ यता न उताको बनाए ।’ ‘आफूसँगैका साथीहरुका ठूला–ठूला छोराछोरी भएको देख्दा मलाई पनि रहर लाग्छ अहिले दाइभाइसँग बसेकी छु । जतिसम्म काम गर्न सक्छु, दाइभाइले पनि साथ दिन्छन् होला । त्यसपछि त्यही भगवतीको शरणमा जानु पर्ला’ उनले भनिन् । देउकी भएकै कारण समाजमा भोग्नुपरेको समस्या भनेर पनि साध्य नहुने उनको भनाइ छ । उनलाई देउकी भनेर कुरा गर्दा दुःख लाग्छ । आफूले पाएको दुःखलाई सम्झँदै उनी भन्छिन् ‘यस्तो दुःख अरु कोही नारीले भोग्न नपरोस भन्छिन् । देवताको नाममा छोरीलाई मन्दिरमा चढाउने चलन नराम्रो रहेको उनी बताउँछिन् । मन्दिरमा बस्दाबस्दा दिक्क भएकी जानकी कुनै सीपमूलक तालिम पाउन पाए आफ्नो हातमुख जोर्न सजिलो हुने आशा गर्छिन् । जिल्लामा काम गर्ने थुप्रै संघसस्थाले गाउँका धेरैजसो महिलालाई सीपमूलक तालिम दिएको भए पनि आफूलाई कसैले सहयोग नगरेको दुःखेसो पोखिन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ चैसिर गाउँकी सेतु नायक ६० वर्षकी भइन् । उनी पनि देउकी हुन् । उनी मन्दिरमा काम गरेर नै दिन बिताउँछिन् । बैतडीको प्रसिद्ध निंगलासैनी मन्दिरमा पूजापाठ, मेला लागेपछि सबैभन्दा पहिले उनी नै पुग्छिन् । मन्दिरको सरसफाइ गर्न, मन्दिरमा आएका दर्शनार्थी, श्रदालु भक्तजनलाई फूल दिएर आशीर्वाद दिने काम उनको हो । जिल्लामा रहेका अरु देउकीहरुबाट सन्तान जन्मेका भए पनि सेतुबाट भने सन्तान छैन । उनी आफू १२ वर्षको हुँदा बुवाले मन्दिरमा चढाउनको लागि आफूलाइ बेचेको बताइन् । सेतुकी अर्की बहिनी पनि देउकी छिन् । आफूलाई ३ सय र बहिनीलाई २ सय रुपैयाँमा बेचेर मन्दिरमा चढाएको उनले बताइन् । ६० वर्षको उमेरमा पनि मेलामा पूजाआजा सुरु भए, मेला लागे सबैभन्दा पहिले आफुनै मन्दिरमा पुग्ने गरेको उनले बताइन् । मन्दिरमा सरसफाइ गर्ने, लिपपोत गर्ने घण्ट बजाउने काम अहिलेसम्म गर्दै आएको उनले बताइन् । गरिब भएकै कारण आफू मन्दिरमा देवी भएकाले यो प्रथा गलत भएको उनको भनाइ छ । पछिल्लो समयमा देउकीप्रथा लोप हुँदै गए पनि भित्रभित्रै अझै पनि यो प्रथा कायमै भएको बताइन्छ । देउतालाई खुशी पार्ने नाममा अहिले पनि समाजका ठूलाबडा र शिक्षित भनाउँदाहरुले नै देउकी चढाउने गर्दछन् । एक वर्षअघि मात्रै देवकी बिष्टले बनाएको वृत्तचित्र ‘इन सर्च अफ देवकी’ मा पनि देउकीका दुःख देखाइएको छ । देउतालाई खुशी पार्न चढाइएका देउकीका दुःख भने कसैले नदेखेको उनीहरुको दुखेसो छ ।
National/Online Media

0 Comments