Incident Reports

सात महिनामा १० बालबालिका बलात्कृत l

2013-07-28

Manohar Kumar Pokharel सप्तरी । ०७० साउन १३ गते जिल्लामा सन् २०१३ को सुरुको सात महिनामा १० जना बालबालिका बलात्कृत भएका छन् । जनवरीदेखि जुलाई महिनासम्म बलात्कृत हुनेमा ४ वर्षीय बालकदेखि १६ वर्षीया बालिकासम्म रहेका छन् । नौ ओटा घटनामा १० जना पीडित र १२ जना आरोपित देखिएका छन् । घटनामा बालिकाहरू आफन्त र छिमेकीबाटै बढी असुरक्षित देखिएका छन् । यौनहिंसाको घटनाहरू बर्सेनि बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव डिएसपी श्यामसिंह चौधरीले बताए । प्रहरी कार्यालयमा आउने महिला हिंसाका अधिकांश मुद्दामा बलात्कारको घटना हुने र त्यसमा पनि बाल बलात्कार बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङक छ । प्रहरी कार्यालयले सात महिनामा दर्ता गरेको ८ ओटै बाल बलात्कारको मुद्दा जिल्ला अदालतमा दर्ता गराएको छ । अर्को एक घटनामा आरोपितसमेत बालक भएको भन्दै महुली प्रहरी चौकीमा पीडितलाई रु १० हजार क्षतिपूर्ति दिलाएर सहमति गराइएको छ । जिल्ला अदालतले दर्ता भएका सात मुद्दाका तीन आरोपीलाई पुपर्क्षका लागि थुन्ने आदेश गरेको छ । फरार रहेका एक जनाको अचल जग्गाजमिन र अंशलगायतका अन्य सम्पति रोक्का राख्न आदेश गरेको छ भने अन्य चार जनाको नाममा म्याद जारी गरेको छ । अदालतले आरोपीमा बालक देखिएका एक जनालाई साधारण तारेखमा, एक जनालाई बाल सुधार गृह पोखरामा र अर्का एक जनालाई स्वास्थ्य चेकजाँचमा साबालक देखिए थुनामा राखी पुर्पक्ष गर्ने भन्दै तत्कालका लागि बुवाको जिम्मा लगाएको छ । अन्य आरोपीहरूमा १८, २२, २४ र ३२ वर्षका रहेका छन् । सामाजिक प्रतिष्ठा हनन हुन सक्ने डरले अझ कतिपय घटनाहरू सार्वजनिक हुन नसकेको अधिकारकर्मी पार्वती राउतले बताइन् । "पहिला सामाजिक प्रतिष्ठा गुम्ने डरले बलात्कारीविरुद्ध पीडितले मुख नखोल्दा दोषी उम्किन्थ्यो, इन्स्पेक्टर विजय यादवले भने," कारबाही हुन थालेपछि बलात्कारविरुद्ध धमाधम उजुरी आउन थालेका छन् ।" "पीडितले अपराधविरुद्ध मुख खोल्दा प्रायः सबै पीडक कानुनी कारबाहीमा परेका छन् ।" जिल्ला अदालतका स्रेस्तेदार बेदप्रसाद उप्रेतीले भने, "अनुसन्धान भएर आउने सबै मुद्दामा कसुर ठहर भई दोषीले अदालतबाट सजाय पाएका छन् ।" महिला तथा बालबालिका कार्यालयका अधिकृत देवकी न्यौपानेले न्याय खोज्न चाहनेलाई जबरजस्ती मिलाइने प्रवृत्ति अझै कायम रहेकाले कतिपय घटना उजागर नभएको बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis