Incident Reports

छोरी फिर्ता नदिएको भन्दै परिवारमाथि आक्रमण l

2013-08-01

Amrti Giri रुपन्देही । ०७० साउन १७ गते अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई फिर्ता गर्न नमानेको भन्दै सिपुवा गाविस-८ पतिजीयाका एक दलित परिवारलाई बेहुलीका माइती पक्षले कुटपिट गरेका छन् । विवाहकै कारण विस्थापित भएको जोडीलाई पुनस्थापन हुन नपाउँदै परिवारमाथि आक्रमण भएको हो । आक्रमणमा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छैन । अन्तरजातीय विवाह गरेको जोडी भने गाउँबाट विस्थापित भएको छ । बेहुलाका परिवारले छोरी फिर्ता नगरिदिएको भन्दै बेहुलीका आफन्त र नातेदारले बेहुलाका परिवारमाथि धम्की दिँदै आएको थियो । गत साउन ६ गते घरमा रहेका बेहुलाका दाजु तथा आमामाथि आक्रमण भएको पीडित परिवारले बताएको छ । पतिजियाका २१ वर्षीय विपत्त हरिजनले गैरदलित समुदायकी युवती १८ वर्षीया विन्देश्वरी भरसँग प्रेमविवाह गरेपछि विन्देश्वरीका माइतीपक्षले त्यसलाई अस्वीकार गर्दै आएका छन् । छोरी फिर्ता दिनुपर्नै भन्दै विपत्तका दाजु सुग्रीम हरिजनलगायत हजुरबुवा मुनिराम हरिजन, हजुरआमा कोइली हरिजनलाई आइतबार राती कुटिपट गरेका हुन् । हातहतियार सहित आएको समूहले सुग्रीमको परिवारलाई साउन ६ गते राति आठ बजे आक्रमण गरेको पीडित सुग्रीम हरिजनले बताए । कुटपिटबाट सुग्रीमको आखाँमा चोट लागेको छ । बेहुलीका दाजु सञ्जय भर, आमा मुन्ना भर, छिमेकी सिवर्णकर, विरेन्द्र भर लगायतको टोलीले आफूहरुलाई आक्रमण गरेको पीडितले बताए । विस्थापित भएको झण्डै पाँच महिनापछि घरमा आउजाउ गर्न लागेका बेहुलाका दाजु सुग्रिबलाई केटी पक्षका आफन्तले घरमै पुगेर कुटपिट गरेका थिए । दलित परिवारका हरिजन र गैरदलित भरले गत चैत १ गते प्रेम विवाह गरेका थिए । प्रेमविवाह गरेसंगै उनीहरुलाई माइती पक्षले स्वीकार गरेको छैन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख विक्रम सिंह थापाले घटनाबारे थप अनुसन्धान र छलफल गरिने बताए । थापा केही दिन अघि मात्रै रुपन्देहीमा सरुवा भइ आएका हुन् । उनले दुवै पक्षलाई राखेर छलफल गराउने र कानुनी आधारमा विवाद मिलाउन पहल गरिने बताएका छन् । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis