Incident Reports

पुरुषमा मानवता हरायो : ६ महिनामा ५ सयभन्दा बढी महिला बलात्कारको शिकार !

2018-03-18

Nepal

पुरुषमा मानवता हरायो : ६ महिनामा ५ सयभन्दा बढी महिला बलात्कारको शिकार ! गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन कैलालीकी राधा चौधरीमाथि निर्घात कुटपिट भयो । स्थानीय तान्त्रिक (गुरुवा) रामबहादुर चौधरी (भोला)ले राधालाई बोक्सीको आरोप लगाउँदै डेढ घण्टासम्म निर्घाट कुटपिट गरे । त्यसको एकसातापछि गत फागुन ३० गते कञ्चनपुरकी सुनिता चन्दलाई घर नजिकैका २७ वर्षिया राकेश चन्दले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै शरीरमा तातो घिउ खन्याएर फरार भए । सुनिताको अहिले कैलालीको गटास्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाका दोषि राकेशको खोजी गरीरहेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लाको सिसौली टोलकी शान्ती तामाङको गत फागुन १८ गते सामुहिक बलात्कार पछि हत्या भयो । विहान गाउँकै एक बालिकालाई गुन्यू–चोलो दिने कार्यक्रममा गएकी तमाङलाई बलात्कार गरी ढुङ्गाले किचेर अनुहारसमेत चिन्न नसकिने गरी छतविक्षत् पारेर मारिदिए । प्रहरीको अनुसन्धानले सामूहिक बलात्कार पछि हत्या भएको बताएको थियो । घटना घटेको आधा महिना भइसक्दा पनि घटनामा संलग्नहरु भने अझै पनि पक्राउ परेका छैनन् । गत फागुन १४ गते नै पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाख्रा चराउन गएकी ८ वर्षीया बालिकामाथि बलात्कार भयो । यस्तै रोल्पामा फागुन महिनामा १२ दिनको फरकमा एक किशोरी र एक महिलामाथि बलात्कारको घटना भयो । २८ वर्षीया एक महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका पाँचजना युवकले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय रोल्पामा उजुरी परेको थियो । साँझ ७ बजेतिर गाउँकै पसलबाट आवश्यक खाद्य सामग्री लिएर फर्कने क्रममा ती महिला बलात्कृत भएकी थिइन् । यस्तै सुनछहरी गाउँपालिका फगाम १७ वर्षीय किशोरले सोही गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरे । यो त फागुन महिनामासञ्चार माध्यमहरुमा आएका महिलामाथिको हिंसा र अपराधका केही घटना उदाहरण मात्रै हुन् । पछिल्लो समयमा देशका विभिन्न ठाउँमा महिलामाथिको हिंसा र अपराधका घटनाहरु बढ्दै गएका छन् । ६ महिनामा ५ सय भन्दा बढी बलात्कारको मुद्धा नेपाल प्रहरीको तथ्याङ्कले पछिल्लो समय माहिलामाथि हुने हिंसाका घटना अझ बढेको देखिन्छ । नेपाल प्रहरीको आर्थिक वर्ष २०७४/७५ को अर्धवार्षिक तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्म ५ सय २९ वटा बलात्कारका घटना भएका छन् । बलात्कारको प्रयासको २ सय ६९ वटा मुद्धा दार्ता भएको प्रहरी प्रवक्ता मनोज नेउपानेले लोकान्तरलाई जानकरी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ११ हजार ३१ वटा बलात्कारसम्बन्धी उजुरी दर्ता भएका थिए । यस्तै बलात्कार प्रयासको ५ सय ३६ वटा उजुरी दर्ता भएको प्रहरीको तत्थ्याङ्कले देखाउँछ । महिला आयोगमा माघमा मात्रै १ सय ३ जटा घरेलु हिंसाका उजुरी राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०७४/७५ मा साउनदेखि फागुन महिनासम्ममा घरेलु हिंसा र महिला हिंसाका ३ सय ७८ उजुरी परेका छन् । राष्ट्रिय महिला आयोगमा घरेलु हिंसाको उजुरी धेरै आएको आयोगका सूचना अधिकारी धु्रबराज क्षेत्रीले जानकारी दिए । माघ महिनामा मात्रै घरेलु हिंसाका १ सय ३ वटा उजुरी परेको उनको भनाइ छ । राष्ट्रिय महिला आयोगमा आउने धेरैजस्तो उजुरीमा मिलापत्र हुने गर्छ । ‘महिला आयोगमा आउने उजुरीको धेरैजस्तो मिलापत्र नै हुन्छ । पीडित महिला र पीडकलाई बोलाएर छलफल गरेर मिलाउने गरिन्छ,’ आयोगका सूचना अधिकारी क्षेत्रीले लोकान्तरसँग भने, ‘महिलामाथि भएको घरेलु हिंसाको प्रकृति हेरेर घरमा फर्कने अवस्था नै छैन भने हामीले साथी भन्ने एउटा समाजिक संस्थामा पिडित महिलाको संरक्षको लागि राख्ने गरेका पनि छौं ।’ काठमाडौंको बुङ्मतीमा रहेको साथी नामक सामाजिक संस्थामा राष्ट्रिय महिला आयोजबाट २५ जना महिला संरक्षणमा रहेको पनि उनले जानकारी दिए । पुरुषमा मानवाता हरायो ? महिलामाथि भइरहेका बलात्कारका घटना अझै बढ्नुलाई महिला अधिकारीकर्मीहरू भने पुरुषहरुमा मानवता हराउँदै गएको भनेर विश्लेषण गर्छन् । मानवीय भावना हराउँदै गएकाले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढ्दै गएको उनीहरुको भनाइ छ । महिला अधिकारकर्मी सुनिता दनुवारले महिलाहरु सक्षम र चेतनशील हुँदै जाँदा पनि उनीहरुमाथि हुने हिंसाका घटना बढ्दै गएको बताइन् । ‘अहिले महिलाहरु सक्षम र सवल बन्दै गएका छन् तर पनि महिलामाथि बलात्कार र हिंसाको घटना रोकिएको छैन । दिन प्रतिदिन महिलामाथि हिंसाको समाचार सुन्दा धेरै दुःख लाग्छ ।’ उनले लोकान्तरसँग भनिन्, ‘सबैले मनै देखि सोच्ने बेला आएको छ । मानिसहरुको मानवता कहाँ गयो ?’
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis