Incident Reports

No translation available.

2018-04-20

Nepal

हामी छाउपडी भन्ने बित्तिकै सुदुरपश्चिम सम्झन्छौं । छाउगोठ आँखा अगाडि आउँछ । महिनावारी र सुत्केरी अवस्थामा सुदुर नेपालका महिलालाई छुन हुँदैन भन्ने कुप्रथालाई छाउपडी ठान्छौं । आफ्नै घरमा भएको छाउपडी कुप्रथालाई नजरअन्दाज गर्छौं । सहरमै समाजमा रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, देवता रिसाउने र पाप लाग्ने अन्धविश्वास कायमै छ । यसैको उदाहरण हुन् नवलपरासीको सुनवलकी शारदा घिमिरे । शारदा १२ कक्षामा पढ्दै छिन् । उनी महिनावारी भएको ५ दिनसम्म भान्छामा छिर्न पाउँदिनन् । घरको काम गर्न पाउँदिनन् । ‘हाम्रो हजुरबुबा पण्डित महिनावारी बार्नेकुरा कडाईका साथ पालना गर्नु पर्छ ।’ उनले भनिन्, ‘मैले मात्र होईन आमा, दिदी भाउजु सबैले बार्नुपर्छ ।’ उनलाई महिनावारी भएको बेलामा भान्छा पुजाकोठा मात्र होईन अरु कोठाहरुमा पनि जान अनुमति छैन । हाम्रो घरको छतमा एउटा छुट्टै कोठा छ त्यसैमा सुत्नु पर्छ । उनी भन्छिन् ‘संसार कहाँबाट कहाँ पुगिसक्यो हाम्रो परिवारमा रजस्वललाई पाप भनेर बुझिएको छ ।’ महिनावारी नबारे घर नै बिग्रेने डर उनले बाध्यता सुनाईन् । रुपन्देहीको सैनामैना नगरपालिकाकी अञ्जु थापा अहिले ३३ वर्षकी भईन । उनी १५ वर्षकी हुँदा पहिलो पटक रजस्वला भएकी थिईन । ‘त्यसबेला मलाई आमा, हजुरआमाले माईजुको गोठमा लगेर २२ दिनसम्म लुकाउनु भएको हो ।’ अञ्जु भन्छिन्, ‘भन्छिन् त्यसबेला मलाई दाई र बुबालाई हेर्न नहुने बताउनुभयो ।’ महिनावारी भएपछि यो क्रम तीन पटकसम्म दोहोरियो । त्यसपछि भने आमाले महिनावारी भए भने पछि भान्छा, पुजाकोठामा जान नदिएको उनले बताईन् । अहिलेपनि यो क्रम जारी छ । विहे पछि सासुले रजस्वला भएको बेलामा खाने भाँडा, लगाउने कपडा समेत छुट्याईदिएकी छिन् । सुत्न खाट पाईंदैन । उनले भनिन्, ‘सुत्ने पनि भूँईमा हो ।’ अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी हुँदा त झनै सकस भयो उनलाई । भनिन्, ‘म त सुत्केरी हुँदा पनि पराल माथि सुतेकी थिएँ ।’ तिलोत्तमानगर पालिकाकी दिपिका कार्की आफ्नो परिवारमा पनि छाउपडीको अंश रहेको बताउँछिन् । पहिले जस्तो रुपमा नभए पनि महिनावारी भएको समयमा छुन नहुने, आफुले छोएको कसैले नखाने गर्छन् । महिनावारी हुँदा सुत्ने स्थान तोकिएको छ । यस्ता कुराले उनलाई महिनावारी हुने बेला आएपछि पिरोल्छ । ‘महिना एक पटक आफ्नै घर भित्र भएको यस्ता कुराले साँच्चै दुखी बनाउँछ ।’ उनले भनिन् । यि त प्रतिनिथि पात्र मात्र हुन् । यस्ता समस्या शहरका सबैजसो परिवारमा छ । नदेखिएका देउता रिसाउने त्रासमा धेरै महिलाहरुले नै यो प्रथालाई छाड्न सकेका छैनन् । धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । मासिक धर्म प्रकृतिमा रहेका जीवन भएका हरेक तत्वहरुमा हुने गर्दछ जस्तै वनस्पतिमा फूलफूल्नु र मधुरस निस्कनु प्रजनन्को तयारी हो । यूवतीहरुमा पनि उमेर पुगेपछि महिनावारी हुनु उनीहरु प्रजननका लागि योग्य भएको प्राकृतिक संकेत हो । यो कुरा अझै समाजमा बुझाउन जरुरी छ । छाउपडी प्रथा जस्तो भेदभाव पुर्ण व्यवहारका विरुद्घ सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल बैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरि यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागु गर्न आदेश जारी गरेको छ । सरकारले छाउपडीलाई कुरीति मानेको छ । आउँदो भदौदेखि लागु हुने अपराध संहिताले त झनै छाउपडीलाई अपराध मानेर कानूनी सजायको व्यवस्था समेत गरेको छ । तर, कानूनी रुपमा जतिसुकै कठोर व्यवस्था गरेपनि मानसिक रुपमा नै परिवर्तन गर्न नसके यस्ता कुरीति हटाउन सकिँदैन । त्यसैले छाउपडी जस्तो कुरीति हटाउन गाउँ मात्रै होइन शहर बजारमै पनि चतेना अभिवृद्धि गर्न आवश्यक छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis