Incident Reports

अधिकारी दम्पतीको जीवनरक्षाको माग गर्दै सर्वोच्चमा रिट l

2013-09-01

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गराइपाउन आमरण अनशनमा बसेका अधिकारी दम्पतीको जीवनरक्षाका लागि आदेश जारी गर्न माग गर्दै भदौ १६ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता रामराज शिवाकोटीले दायर गरेको निवेदनमा लामो सयमदेखि आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारी र गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था दिनदिनै बिग्रदै गएकाले तिनको जीवन रक्षार्थ सकारात्मक हस्तक्षेप गरी पौष्टिक तथा सन्तुलित भोजन गराउन माग गरिएको छ । वीर अस्पतालले अधिकारी दम्पतीको अवस्था नाजुक भइसकेको प्रतिवेदन दिँदा पनि सरकार, सरकारी निकाय र संवैधानिक निकायले कर्त्तव्य पन्छाउने मात्र कार्य गरेकाले नागरिकले बाँच्न पाउने संवैधानिक अधिकारबाट वञ्चित हुने अवस्था आएको सो निवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएर चुप बस्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयले आफ्नो काम भनेको निर्देशन दिने मात्रै हो भन्ने सम्भिmने तर त्यसको कार्यान्वयनतर्फचासो नदिँदा नागरिकको संवैधानिक तथा कानुनी अधिकार संरक्षण भएको छ भन्ने अवस्था नरहने उल्लेख पनि सो निवेदनमा गरिएको छ । अधिकारी दम्पति आफ्ना छोराको माओवादी कार्यकर्ताले ०६१ जेठ २४ गते हत्या गरेको र हत्यारालाई अहिलेसम्म कुनै कारवाही नभएको भन्दै ०६९ माघ २२ गतेबाट विभिन्न स्थानमा अनसन बस्दै आएका छन् । प्रहरीद्वारा वीर अस्पतालमा पुर्‍याईएका अधिकारी दम्पति अस्पतालमै अनसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको अस्पतालले जनाएको छ । यद्यपी उनीहरुले उपचार लिन अस्वीकार गर्दै आएका छन् ।

0 Comments