Incident Reports

'पहिले बिहे गर्छु भन्दै भारत बेच्न लगे, अहिले भिरबाट खोलामा फालिदिए'

2018-05-04

बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ कि १७ वर्षीया कमला पाण्डेलाई मुगुको खत्याडका लोकबहादुर बाँनियाले विवाह गर्छु भन्दै एक हप्ताअघि फकाउँदै जंगलमा लगेर कुटेका हुन् । कुटाईबाट गम्भीर घाइते भएकी पाण्डेलाई मरी भन्दै बाँनियाले पोरखे लेकबाट खोलामा फ्याँकिदिएका हुन् । डेढ महिनाअघि बाँनियाले पाण्डेलाई विवाह गर्ने प्रलोभन देखाएर भारतमा बेच्न लैजाँदै गर्दा माइती नेपालले गड्डाचौकीमा दुवैलाई समातेको थियो । त्यसपछि युवतीको बुवा काशिप्रसाद पाण्डेले ‘मेरो छोरीको घरबार बिग्रन्छ’ भन्दै दुवैलाई छुटाएका थिए । कमलाका बुवाले बाँनियाले आफ्नी छोरीलाई बेच्न नलगेको बताउँदै आफूले विवाह गरिदिने भन्दै दुवैलाई छुटाएका थिए । उद्धारपछि बुढीनन्दा नगरपालिका–५, मा रहेको मामाको घरमा बस्दै आएकी कमलालाई पुनः बाँनियाले बिहे गर्ने भन्दै बाँनियाले पोरखे लेखको जंगलमा पुगेपछि कुटपिट गरेर मरी भनेर खोलामा फालेर भागेका थिए । पोरखे लेक क्षेत्रमा अचेत अवस्थामा भेटिएकी पाण्डेलाई बुढीनन्दा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सतवीर बोहोराको पहलमा विमानस्थल सुरक्षा गार्ड कोल्टीले उद्धार गरेको थियो । टाउको र अनुहारमा गम्भीर चोट लागेकी कमलालाई प्रहरीले उद्धार गरेपछि एक हप्तादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । ‘अहिले कमलाले राम्रोसँग बोल्न नसके पनि बेला–बेलामा म जान्छु भन्दै कराउँछे’, उनकी आमा लालजना शर्माले बताउनुभएको छ । ‘उपचारका लागि हामीसँग पैसा पनि छैन, कसैले सहयोग पनि गरेका छैनन्’, शर्माले भन्नुभयो । कमलाका बुवाले छोरीलाई बाँनियाले नै कुटेर फालेको हुन सक्ने आशंकामा भन्छन्, ‘छोरीलाई ल्याएर बुढीनन्दा नगरपालिका –५, वीरसैनको मावली घरमा छोडेर घर गएको थिएँ । पहिले बिहे गर्छु भनेर लगेकै बाँनियाले फेरि पोरखे लेकमा लगेर उनलाई कुटपिट गरेर फालेको हुन सक्छ ।अरु कसैलाई हामीले किन शंका गर्ने ?’ छोरीले राम्रोसँग बोल्न नसके पनि आफूलाई दुई जनाले कुटपिट गरी जंगलमा फालेको बताएको कमलाकी आमाले बताउनुभएको छ । उपचार गरेर निको भए पछि पूरै जानकारी आउने आमा लालजना शर्माले बताउनुभएको छ । कमलाका आफन्तले बिहीबार जिल्ला प्रहरी कार्यालय बाजुरामा बाँनियाको विरुद्धमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा निमित्त प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले दिएको जानकारी अनुसार उनलाई पोरखे लेखको जंगलमा कुटपिट गरेर भिरबाट झण्डै तीन सय मिटर तल खसालेको जानकारी दिनुभयो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विजयकुमार शाह घाइते कमलाको अवस्थाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘कमलाको टाउकोमा गम्भीर चोट र जिउमा धेरै ठाउँमा चोट लागेकाले नेपालगञ्ज लैजान सुझाव दिएका छौँ ।’ तर उपचार गर्ने पसा नभएकोले बाहिर लैजान नसकिएको कमलाकी आमाले गुनासो गर्नुभएको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis