Incident Reports

प्रहरीको यातनाको कारण राईको मृत्यु, डिएसपी सहित ११ जना प्रहरीलाई कारबाहीको सिफारिस l

2013-09-05

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling पाथेका गाविस-२ का १८ वर्षीय किरण राई (भुदेउ)को मृत्यु प्रहरीको यातनाबाट भएको राष्ट्रिय मानवअधिकार आयोगले पुष्टि गरेको छ । प्रहरीको भौतिक संरचना कमजोरी र प्रहरीको लापारवाहीले उक्त घटना हुन पुगेको आयोगले ठहर गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धानबाट थुनुवा राईको यातनाबाटै ज्यान गएको पुष्टि भएको आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिए । आयोगको केन्द्रीय कार्यालयले उपक्षेत्रीय कार्यालय खोटाङ मार्फत भदौ १९ गते थुनुवाको मृत्युको विषय प्रहरी नै भएको जानकारी पत्र पठाएको र उक्त पत्र आफूले बुझेको मृतकका काका रञ्जिप राईले बताए । प्रहरीको हिरासतमा रहेका राईको दिक्तेल अस्पतालमा उपचारको क्रममा असार २६ गते मृत्यु भएको थियो । आयोगले यातनामा संलग्न प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्का, र्सइहरू महेन्द्र खत्री, मुकुन्दप्रसाद विडारीलाई मूलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सिफारिस गरेको छ । तत्कालीन डिएसपी राजिब बस्नेत र इन्सपेक्टर रमेशकुमार देवलाई पनि विभागीय कारबाही गर्न आयोगले पत्र पठाएको घिमिरेले बताए । पीडित परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ को दफा १६ को ३ बमोजिम तीन लाख रुपैया क्षतिपूर्ती दिन पनि मन्त्री परिषदको कार्यालयलाई आयोगले सिफारिस गरेको छ । आयोगले जिल्ला प्रहरी कार्यालय परिसरको शौचालय र भौतिक संरचनामा सुधार गर्न सरकारलाई सुझाव दिएको छ भने जिल्ला अस्पताल खोटाङका डाक्टर नवलकिशोर झालाई आगामी दिनमा कुनै पनि विरामीको उपचार र जटिलताका विषयवस्तुमा संवेदनशिल हुन सचेत गराएको छ । कुटपिट र चरम यातनाबाट राईको ज्यान गएको भन्दै मृतकका आफन्तले राष्ट्रिय मानवअधिकार आयोगलाई छानबिनका लागि आग्रह गरेकोमा आयोगको तर्फबाट मानवअधिकार अधिकृत जीवन न्यौपानेले असार २९ गतेदेखि चार दिनसम्म दिक्तेलमा छानबिन, अध्ययन र अनुसन्धान गरेका थिए । आफन्तले राईको मृत्युलाई शंकास्पद मानेपछि जिल्ला बाहिरको चिकित्सक ल्याएर मानवअधिकारकर्मीको रोहवरमा चार दिनपछि शवको पोष्टमार्टम गरिएको थियो । स्वास्थ्य विभाग काठमाडौँबाट आएका चिकित्सक युवराज पोखरेलले असार २९ गते मृतकको शवको पोष्टमार्टम गरेका थिए । कर्तव्य ज्यान केशमा ०७० जेठ २८ गते गिरफ्तार गरिएका उनी असार २१ गते जिल्ला प्रहरी कार्यालय परिसरको शौचालयबाट भागेकोमा सोही दिन उनलाई बुइपा गाविसस्थित जङ्गलबाट गिरफ्तार गरी ल्याईएको र जिल्ला अदालत खोटाङले असार २३ गते पूर्पक्षका लागि कारागार शाखा दिक्तेल थुनामा राख्न आदेश दिएकोमा उनको तीन दिनपछि जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis