Incident Reports

प्रहरीको सक्रियतामा मण्डपमै रोकियो बालविवाह

2018-05-10

Karnali, Salyan, Chhatreshwori

छायाक्षेत्र मन्दिरमा हुनै लागेको बालविवाह रोकिएको छ । छत्रेश्वरी गाउँपालिकामा रहेको छाँयाक्षेत्र मन्दिर परिसरमामा वैशाख २७ गते बिहान हुन लागेको विवाह प्रहरीको सक्रियतामा रोकिएको हो । शारदा नगरपालिका-१ का १८ वर्षीय सुनिल वादी र वनगाड कुपिण्डे नगरपालिका ५ की १७ वर्षीया बालिकाबिच हुन लागेको बालविवाह मण्डपबाटै रोकिएको हो । मण्डपबाट नियन्त्रणमा लिएका उनीहरूलाई बालविवाहका बारेमा सचेतना दिएर अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत बिकले बताए । अभिभावकहरूलाई जानकारी नदिएर उनीहरू भागेर बालविवाह गर्न लागेको प्रहरीले जनायो । यसरी रोकियो बालविवाह नेपाल पत्रकार महासङ्घ सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा छाँयाक्षेत्र मन्दिर परिसरमा सल्यानको पर्यटन प्रवर्धनमा सरोकारवालाहरूविच अन्तरक्रिया कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका नेकपा एमालेका सचेतक तथा सल्यान ‘क’ का सांसद गुलावजंग शाह प्रमुख अतिथि थिए । सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका कार्यसमितिका सबै, सल्यान जिल्लाका पाँच वटा स्थानीय तहका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत बिक तथा कर्णाली प्रदेशका विभिन्न सञ्चारमाध्यमका कार्यरत पत्रकारहरू थिए । सोही क्रममा एक हुल मानिसहरू मन्दिरमा प्रवेश गरे । विवाहका सामग्रीहरू सहित आएका उनीहरू मन्दिरमा पुगे र विवाहको तयारीमा लागे । त्यहाँ उपस्थित पत्रकारहरू पनि आआफ्नै ढङ्गले मन्दिरको रिर्पोटिङ र फोटो खिचिरहेका थिए । त्यसैबेला कसैले जिल्ला प्रहरी प्रमुख भरत बिकलाई नजिकै बालविवाह भइरहेको जानकारी गराएपछि प्रहरीहरू पनि विवाह भइरहेको स्थामा पुगे । प्रहरीको सोधिखोजी पछि उनीहरूले सुरूमा आफूहरूको उमेर पुगेको दावी गरेका थिए । प्रहरीले उनीहरूलाई निकै सम्झाएपनि उनीहरूले नमानेपछि प्रहरीले इलाका प्रहरी कार्यालय लुहाम लगेर अभिभावकसहित थप सोधपुछ गर्‍यो । सोधपुछ पछि विवाह गर्न लागेकी बालिका १७ वर्षीया भएको पुष्टि भएपछि उनीहरूलाइ आ-आफ्नो अभिभावकहरूको जिम्मा लगाइएको प्रहरी प्रमुख बिकले बताए । अविभावकको जिम्मा लगाइएका उनीहरूले २० वर्षपुगेपछि मात्रै विवाह गर्ने प्रतिवद्धता जनाएका छन् । अभिभावकहरूले भने उक्त अर्न्तरजातीय बालविवाह अभिभावकको मञ्जुरी विनै हुन लागेको बताएका छन् । नेपालको कानुन अनुसार १८ वर्षमुनिको विवाहलाई बाल विवाहको रुपमा हेरिन्छ भने १८ वर्षदेखि २० वषको बिचमा हुने विवाहलाई उमेर नपुगेको विवाह भनिन्छ ।

0 Comments

Related Reports
Related Trend Analysis