Incident Reports

पत्रकारलाई भौतिक आक्रमण गर्ने धम्कीको विरोध l

2013-09-10

Shiva Prasad Dhungana समाचार लेखेको विषयलाई लिएर एकीकृत माओवादीका नेता कार्यकर्ताहरूबाट कमाण्डर पोष्ट दैनिकका ओखलढुंगा समाचारदाता पूर्ण प्रसाद न्यौपानेमाथि भौतिक आक्रमण धम्की आएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा र प्रेस चौतारी नेपालले ०७० भदौ २५ गते विज्ञप्तिमार्फत धम्कीको भर्त्सना गरेको छ । चौतारीका पूर्वाञ्चल इञ्चार्ज कुशलबाबु बस्नेत र पत्रकार महासंघ ओखलढुंगा शाखाका जिल्ला सचिव कुम्भराज राईले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै धम्कीको भर्त्सना गरेका हुन् । एमाओवादीले सिफारिस गरेका उम्मेदवारहरू हत्याका आरोपित भन्ने समाचार प्रकाशन गरेको विषयमा पत्रकार न्यौपानेमाथि एमाओवादीका सदस्य नवराज खड्का भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै धम्की दिनेमाथि कारवाही गर्न विज्ञप्तिमार्फत माग गरिएको छ । न्यौपानेमाथि बाटोमा भेट्दा आफ्नो पार्टीविरुद्ध समाचार लेखको भन्दै भौतिक आक्रमण गर्ने धम्की दिएको उल्लेख छ । पीडित पत्रकार न्यौपानेले नवराज खड्का र जिल्ला नेता चम्पा कार्कीले धम्की दिएको ०७० भदौ २५ गते इन्सेक जिल्ला प्रतिनिधिलाई बताए । उनले सुरक्षाको माग गर्दै पत्रकार महासंघ र जिल्ला प्रशासन कार्यालयमा ०७० भदौ २४ गते निवेदन समेत दिएको बताए । एमाओवादीका नेताहरूले बेला बेलामा आफूलाई धम्की दिने र मानसिक रुपमा यातना दिने गरेको पीडितले गुनासो गरेका छन् । पत्रकार महासंघले पत्रकारमाथि धम्की दिनमाथि कारबाही नगरे कडा आन्दोलन गर्ने घोषणा गरेको छ। शिवप्रसाद ढुंगाना

0 Comments