Incident Reports

अन्तरजातीय विवाहलाई सामाजिक विभेद :किरिया गराउनसमेत मानेनन् पुरोहित

2018-05-22

मोरङको पथरीशनिश्चरे ४ का एक युवक दलित समुदायकी युवतीसँग विवाह गरेकै कारण बाबुको काजकिरिया गर्नबाट वञ्चित भएका छन् । १ जेठमा बाबु धनबहादुर श्रेष्ठको निधन भएपछि पुरोहितको सहयोगमा गरिने दैनिक काजकिरिया कर्मबाट स्थानीय यादव श्रेष्ठ वञ्चित भएका हुन् । रेखा विश्वकर्मासँग डेढ वर्षअघि प्रेम विवाह गरेका परिवारका एक्लो छोरा श्रेष्ठले बाबुको पार्थिव शरीरमा दागबत्ती दिन पाए पनि पुरोहितबाट गरिने काजकिरियाबाट भने वञ्चित भएका छन् । १३ दिनसम्म गर्नुपर्ने काजकिरिया गराउन पुरोहितहरू नमानेको उनले दुखेसो पोखे । ‘आफैँ चोखो गरेर आफ्नै तरिकाले बारेर बसेका छौँ,’ उनले भने, ‘बाबुको काजकिरिया गर्छु भन्दा समेत पुरोहितहरू आइदिएनन् ।’ उनको छोरो जन्मिएका वेला न्वारनमा समेत पुरोहित नआउँदा आफैँले चोख्याएको समेत उनले बताए । श्रेष्ठका बाबुको काजकिरिया गराउन पुरोहितले मात्र अस्वीकार गरेका हैनन्, नेवार जातिका पुरोहित (गुभाजु)हरू समेतले नमानेको उनले गुनासो गरे । आफन्तहरूले पनि कुनै केटी नपाएर विश्वकर्मा केटी बिहे गरेपछि यस्तै अप्ठेरो हुने भन्दै असहयोग गर्ने गरेको उनले बताए । मृतककी बुहारी रेखाले जीवित छँदा ससुराबुबा आफूहरूमाथि विभेद नगरेको बताइन् । आफैँले पकाएर खुवाउँदा खुवाउँदै आफ्नै काखमा ससुराले प्राण त्यागेको उनले सुनाइन् । विभेद नै नगरेका ससुराको काजकिरिया गर्न नदिँदा समाजसँग उनी आक्रोशित भएकी छन् । श्रेष्ठलाई ससुरालीतर्फका आफन्तले दैनिक साथी बस्ने र सहयोग गर्ने गरिरहेका छन् । पहिलो दिनदेखि नै पुरोहित नपाएपछि १३ दिनसम्म गरिने काजकिरिया कर्म आफैँ गहुँत खाएर ७ दिनमा चोखिने उनले बताए । पथरी–शनिश्चरे ४ का वाडध्यक्ष गोविन्द भण्डारीले भने यसबारे आफू जानकार नभए भन्दै घटनाबारे बुझ्ने बताए ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis