Incident Reports

तस्करीबाट छुटे बालबालिका

2018-05-27

जेठ ९ गते बुधबार, अन्नपूर्ण पोस्ट् दैनिकमा बाबुआमा झुक्याएर बालबालिका तस्करी शीर्षक समाचार प्रकाशन भएपछि तस्करी भएका २४ जना जुम्ली बालबालिका घर फर्किएका छन्। समाचार प्रकाशनपछि विभिन्न सञ्चार माध्यमले खबर सुनाएपछि सरोकारवाला निकायले ती बालबालिकाको उद्धार गरेका हुन्। वैशाख ५ गतेदेखि १० गतेसम्म चरणबद्ध जुम्ला पातारासी गाउँपालिका १ र २ बाट २४ जना बालबालिका रुकुम पुर्‍याइएको थियो। अभिभावकलाई झुक्याएर वडाको सिफारिसमा आमा, बाबा नभएको झुटा कागज बनाई रुकुमको एक बालगृहमा पुगेका ती बालबालिका जोखिम अवस्थामा फेला परेका थिए। झुटा कागज बनाई अनाथालयमा पढाउने भन्दै वडा नम्बर १ का २० र २ का ४ जना बालबालिकालाई रुकुमको नरसिंह बालगृहमा पुर्‍याइएपछि ती बालबालिकाको अवस्था जोखिम रहेको खबर महिला तथा बालबालिका कार्यालय रुकुमका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए। त्यसपछि जुम्ला र रुकुुमका सबै सरोकारवाला निकायसँग छलफल र समन्वय गरी बालबालिका फिर्ता ल्याइएको हो। ८ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ बालिका र १५ जना बालकलाई शनिबार जिल्ला बाल कल्याण समिति र मुसीकोट नगरपालिका रुकुमको पहलमा जुम्ला फिर्ता गरिएको छ। रुकुममा भएको एक औपचारिक कार्यक्रमबीच उद्धार गरिएका सबै बालबालिकालाई पारिवारिक पुनःस्थापना गराउन जुम्लाका बाल संरक्षण निरीक्षक हर्क महतलाई जिम्मा लगाइएको हो। उनले २ दिनभित्र आफूहरू जुम्ला पुग्ने र त्यसपछि पत्रकार सम्मेलन गरी बालबालिका उनीहरूका आफन्तलाई जिम्मा लगाउने बताए। बालबालिकालाई रुकुमबाट जुम्ला पुर्‍याउने सबै खर्च महिला तथा बालबालिका कार्यालय जुम्लाले जुटाउने बताएको छ। रुकुम बालकल्याण समितिले ५ हजार खाजास्वरूप प्रदान गरेको छ भने बालगृह सञ्चालक र बालबालिका ओसारपसारमा संलग्नमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि बालबालिका तस्करीमा संलग्न सबैमाथि कारबाही हुने प्रहरीको भनाइ छ।
National/Online Media

0 Comments