Incident Reports

उपचार अभावमा सात वर्षीय बालक सिक्रीमा

2018-05-27

Lumbini, Palpa, Ribdikot, Ward 1

आफैँले जन्माएको बच्चालाई गाई बाख्रालाई जस्तै सिक्रीले बाँधेर राख्न मन कुन आमालाई होला र ? तर, यहाँ एउटी आमाको दैनिकी आफैँले जन्म दिएको छोरालाई सिक्रीले बाँधेर घरमा राख्ने र आफू वरपर जाँदा उनलाई सिक्रीमै डोर्‍याउँदै बित्ने गरेको छ । रिब्दीकोट गाउँपालिका-१ ख्याहा जोगीथुमका सात वर्षीय बालक शिवकुमाल जन्मेर जान्ने बुझ्ने भएदेखि नै सिक्रीमा बाँधिएका छन् । आफ्नो उमेरका साथीहरू बिद्यालय जाँदा उनले सिक्रीमै जेलिएर घरको पिँढीमा बसेर दिन बिताउनुपरेको छ । छोरा जन्मेर हिँड्ने डुल्ने भएदेखि नै यसरी बाँधेर राखिएको शिवकी आमा पार्वती कुमालले बताइन् । ‘घर वरपर धेरै चकचक गर्ने, बिगो गर्ने, उत्तिखेरै भागेर टाढाटाढासम्म जाने गर्छ । त्यही भएर यसरी बाँधेर राखिएको हो ।’ शिव बोल्न सक्दैनन् तर आफन्तहरूलाई पहिचान गर्न सक्छन् । घर नजिकै कालिका आधारभुत विद्यालय पनि छ । तर, उनलाई विद्यालय पठाइएको छैन । विद्यालयमा कुनै कार्यक्रम भएका बेला उनकी आमा पार्वतीले सिक्रीले डोर्‍याउँदै लैजान्छिन् र कक्षाकोठाभित्रै बाँधेर राख्छिन् । उनको उपचारका लागि तानसेनको लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा लगेपनि कुनै सुधार नभएको र आफूसित आर्थिक अभाव भएका कारण अन्यत्र राम्रो अस्पतालमा लैजान नसकिएको पार्वतीले बताइन् । ‘सबैले राम्रो अस्पतालमा लैजान सके सञ्चो हुन्छ भन्नुभएको छ । तर, यसको उपचारका लागि मसँग पैसा छैन ।’-उनले भनिन् । पार्वतीका अरू दुई जना छोरा पनि छन् । उनीहरूमध्ये एउटा कक्षा ५ र अर्का शिशु कक्षामा पढ्छन् । शिव पार्वतीका माइला छोरा हुन् । स्थानीय कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेश कुमालले शिव एक-दुई दिन स्कुल आएपनि उनका कारण अरू साथीहरूलाई पनि बाधा गरेकाले पछि अभिभावकले ल्याउन छाडेको बताए । ‘नियमित सिक्रीमा बाँधेर राख्ने गरिएकोले उनको मानसिकता नै त्यस्तै भएको र सामान्य उपचार गराउन सके उनलाई केही सुधार हुन सक्छ ।’-प्रधानाध्यापक कुमालले भने ।

0 Comments