Incident Reports

बन्धक बनाई देह व्यापारमा

2013-09-16

” काठमाडौ, भाद्र ३१ - राजधानीमा छ महिनादेखि १३ वर्षीया किशोरीलाई बन्धक बनाएर देह व्यापारमा लगाएको पाइएको छ । काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त स्थानमा छापा मारेर १३ वर्षीया किशोरीसहित ६ जनाको उद्धार गरेको छ । भट्टी सञ्चालक र त्यहाँ किशोरीलाई ल्याइदिने अर्का एकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैयाकी रीतादेवी यादव र सप्तरीका अमेरिका महतो छन् । महतोले १३ वर्षीया ती किशोरीलाई भारतको मोतिहारीबाट बावु-आमालाई थाहा नदिई घरमा भाँडा धुने कामका लागि भन्दै लिएर आएका थिए । 'तर यहाँ ल्याएर बन्धक बनाई देह व्यापारमा लगाएको पाइयो,' काठमाडौं परिसरका प्रमुख एसएसपी सुबोध घिमिरेले भने, 'बन्धक बनाएर गैरकानुनी गतिविधि सञ्चालन भएको थाहा पाएपछि छापा मारेर समातिएको हो ।' ती १३ वर्षे किशोरीले दैनिक ५ देखि ८ व्यक्तिसँग जबरजस्ती यौनसम्पर्क राख्न बाध्य बनाइएको बताएकी छन् । उनले त्यहाँ ग्राहक बनेर आएका एक व्यक्तिलाई आफू त्यहाँबाट भाग्न खोजेको बताएपछि ती व्यक्तिले प्रहरीलाई खबर गरेको पाइएको छ । किशोरीले यौनसम्पर्क राख्न नमान्दा उनको हात, खुट्टामा चक्कुले काटेर बाध्य बनाइएको बताएकी छन् । उनको हात र खुट्टामा काटिएको आलो खाउ र खतहरू छन् । प्रहरीले ती किशोरीलाई कुनै संस्थाको जिम्मा लगाउने तयारी गरिरहेको छ । प्रहरीका अनुसार त्यहाँ बाहिरबाट हेर्दा भट्टी पसल र भित्र ३ वटा कोठा बनाएर अवैध धन्दा हुने गरेको बताएको छ । प्रहरीले अन्य किशोरीलाई पनि झुक्याएर ल्याई बन्धक बनाएर देह व्यापारमा लगाउने गरेको बताएको छ । प्रहरीले त्यहाँबाट अन्य ५ किशोरीको पनि उद्धार गरेको छ । तर उनीहरूले आफूखुसी त्यो पेसामा लागेको बयान दिएका छन्

0 Comments