Incident Reports

जातीय विभेद तथा सामाजिक बहिष्करणमा परेकी बुद्धमायाद्वारा आत्महत्या प्रयास

2018-07-20

Madhes, Mahottari, Bardibas, Ward 4

जातीय विभेद तथा सामाजिक बहिष्करणमा परेको भन्दै विष सेवन गरी आत्महत्या प्रयास गरेकी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्माको उपचार काठमाडौँको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालको आइसियु कक्षमा भइरहेको छ । बुद्धमायाको अवस्था गम्भीर भएपछि बर्दिबासबाट असार ३० गते थप उपचारका लागि ग्रिनसिटी अस्पताल भर्ना गरिएको हो । पानी छोएको निहुँमा कुटिएकी उनलाई अदालतले न्याय दिएपनि समाजिक बहिष्करणमा परेपछि पीडित बुद्धमायाले असार २७ गते विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिइन् । ‘बुद्धमायको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।’–अस्पतालका प्रमुख लोकबहादुर टण्डनले भने–‘हामीले आइसियुमा राखेर उपचार गरिहेका छौँ ।’ उनको उपचारमा डक्टर शन्तकुमार दास, डक्टर खेम भुसाल र रोशन दाहाल संलग्न छन् । ग्रिनसिटी अस्पतालले बुद्धमायाको उपचार निःशुल्क गरिरहेको छ । पानी छोएको निहुँमा कुटिएकी बुद्धमायालाई समाजले बहिष्कार गरेको सुन्दा आफूलाई दुःख लागेको बताउँदै अस्पताल सञ्चालक टण्डनले भने–‘उनको आर्थिक अवस्था कमजोर छ । त्यसैले बुद्धमायाको जीवन रक्षाको लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो ।’ आउने शनिबारसम्म उनी डिस्चार्ज भएर घर फर्कने अस्पतालले जनाएको छ । बुद्धमायालाई समाजमा पुर्नस्थापनाका लागि पहल थालिएको छ । समाजका सचेत नागरिकहरू उनलाई गाउँमै सम्मानित जीवन जीउने माहौल तयार गर्न जुटेका छन् । ‘बुद्धमायालाई दबाब दिनेहरूको खोजी गरिरहेका छौँ ।’–स्थानीय दुर्गाबहादुर कार्कीले भने–‘बुद्धमायाले समाजमा न्याय नपाएको सुन्दा हामीलाई नराम्रो महसुस भइरहेका छ ।’ समाज जीउँदाको जन्ती र मर्दाको मलामी हो भन्ने यथार्थलाई गुम्न नदिने भन्दै बुद्धमायालाई समाजमा बस्ने वातावरण बनाउने उनका छिमेकी रुद्रबहादुर पौड्यालले जनाए । ‘२१ औँ शताब्दिमा कसैले पनि कसैलाई छुवाछुतको व्यवहार गर्नु हुँदैन ।’–उनले भने । ‘समाजबाट बहिष्कृत भएको महसुस् गरेकी बुद्धमायालाई होच्याउने कुरा हुनुहुँदैन ।’–स्थानीय सुजता लामगादेले भनिन्–‘उनलाई समाजले पहिले भन्दा अब बढी माया ममता दिनुपर्छ ।’ समाजले सधैँका लागि छुवाछुतको व्यवहार अन्त्य गर्ने देवी बराइलीले बताए । ‘जात सानो ठूलो हुँदैन । सबैले सबैलाई सम्मान गर्नु पर्छ ।’–राजनीतिकर्मी सोमबहादुर कार्कीले भने–‘मर्दा पर्दा सबैलाई समाज चाहिन्छ । त्यसैले सबै मिलेर बस्नुको विपल्प छैन ।’ बर्दिबास नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष दलबहादुर कार्कीले ग्रामीण भेगमा समाजिक विकृति विसङ्गती विरूद्धमा जनचेतनामुलक अभियानको खाँचो रहेको बताए । ‘बुद्धमायाको पुनस्र्थापनाका लागि वातावरण बनाउँछु ।’–उनले भने–‘मलाई सरकारले दिने सेवा सुविधा कटौती गरेर भएपनि उनलाई सम्मानित जीवन बाँच्न सहयोग गर्छु ।’ पानी छोएको भन्दै बुद्धमाया र उनकी छोरी मनीषामाथि दुर्व्यवहार तथा कुटपिट गर्ने आरोपितलाई जिल्ला अदालत महोत्तरीले असार २४ गते ६ महिनासम्म कैद, जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति दिने निर्णय सुनाएपछि सामाजिक बहिष्करणका कारण उनले आत्महत्याको प्रयास गरेको बताइएको छ । पानी छोएको निहुँमा वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भाञ्जा रामबाबु दाहालले बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरेका थिए । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिमको दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै कमला गिरी र रामबाबु दाहाललाई न्यायाधीश दण्डपाणी शर्माको इजलासले १० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति सहित जेल सजायको फैसला असार २४ गते सुनाएको थियो । कुटपिटका मुख्य दोषी गिरीलाई ६ महिना सजाय तोकिएको छ भने दाहाललाई ३ महिना कैद सजाय सुनाइएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis