Incident Reports

सिंगो दलित परिवारै नागरिकताविहीन

2018-08-01

Madhes, Siraha, Lahan

एक सिंगो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भएको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ तर यथार्थ यही नै हो। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ। नेपालमै जन्मिएको र हुर्किएको भए पनि अहिलेसम्म उनले आफू नेपाली नागरिक भएको कुनै पहिचान पाउन सकेका छैनन्। घरमूली ४५ वर्षीय गोनरको नागरिकता प्रमाणपत्र बन्न नसक्दा ४५ वर्षीया श्रीमती अमिरका देवीको पनि बन्न सकेको छैन। दुवैलाई वर्षौंदेखि यही चिन्ताले सताइरहेको छ। दम्पत्तिकै नागरिकता नभएर जेठो छोरो २८ वर्षीय सचिन्द्र, माइलो छोरो २१ वर्षीय रामकुमार, कान्छो छोरो १५ वर्षीेय सुनिल र बुहारी २५ वर्षीया आशा नागरिकता पाउनबाट वञ्चित छन् भने छोरी १२ वर्षीया दुर्गादेवी, नातिनी १० वर्षीया सृजना, नाति आठ वर्षीय प्रेम र पाँच वर्षीय सुरेन जन्म दर्ता प्रमाणपत्रबाट वञ्चित छन्। नेपाली भएको मुख्य पहिचान नागरिकता प्रमाणपत्र नै नपाएका उक्त परिवारका सबै सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित छन्। स्थानीय साहुमहाजनकोमा खेतीपातीको काम गर्दै आएका गोनर परिवारले नागरिकता पाउन थुप्रै सरकारी निकायमा धायो। जता गए पनि आश्वासनबाहेक केही नपाएको गोनरको दुःखेसो छ। जन्मेलगत्तै कानुनी रुपमा राज्यका सबै नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ। यो हरेक नागरिकको नैसर्गिक अधिकार हो। बुवा महेन्द्र सदाकै नागरिकता प्रमाणपत्र बन्न नसकेका कारण अहिले गोनरको पूरै परिवार नै पहिचानविहीन छ। गोनर भन्छन्, ‘बुवाको नागरिकता नहुँदा मेरो जन्म दर्ता बन्न सकेन। अहिले मेरो नागरिकता नहुँदा श्रीमती, छोराछोरी, नातिनातिनी सबैको पहिचान बन्न सकेको छैन।’ जन्मदर्ता नबन्दा गोनरका छोराछोरी विद्यालय जानबाट पनि वञ्चित छन् भने नाति नातिनीले पनि त्यो अवसर पाएका छैनन्।
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Trend Analysis