Incident Reports

एसपीको कुटाइले कानको जाली फुट्योl

2013-10-08

- , आश्विन २३ - जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक -एसपी) ईश्वरी चापागाईंको कुटाइबाट एक जना प्रहरी हवल्दार घाइते भएका छन् । आफ्नै कार्यालय प्रमुखको कुटाइबाट घाइते ३८ वर्षीय प्रहरी हवल्दार युवराज पोखरेललाई एसपी चापागाईंको निर्देशनमा उपचारसमेत गर्न नदिई जिल्ला अस्पताल धनकुटाबाट जबर्जस्ती जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको पीडितले बताएका छन् । एसपी चापागाईंको कुटाइबाट हवल्दार पोखरेलको बायाँ कान नसुन्ने भएको छ भने छातीमा गम्भीर चोट रहेको पीडितले बताए । डाक्टरले कानको जाली फुटेको भन्दै उपचार गराउन भने पनि आफूलाई अस्पतालबाट जबर्जस्ती जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको तथा बिनाअनुमति कतै पनि जान नपाइने गरी कार्यालयभित्रै राखेकोे मंगलबार साँझ कान्तिपुरसित टेलिफोनमा उनले बताए । धनकुटास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ड्युटी सकेर सोमबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय आउँदा आफूलाई एसपी चापागाईंले बोलाएर ५ बजेर १७ मिनेटमा निर्घात कुटपिट गरेको पीडित हवल्दार पोखरेलले बताए । आफूले कुनै गल्ती नगर्दा पनि एसपी चापागाईंले बिनाकारण कार्यालयभित्र निर्घात कुटपिट गरेपछि आफू आश्चर्यमा परेको उनले बताए । साँझ कुटपिट गरिएपछि स्वास्थ्य अवस्था खराब हुँदा आफूलाई सोमबार राति १२ बजे धनकुटा जिल्ला अस्पतालमा भर्ना गरेको पोखरेलले बताए । छातीमा चोट लागेकाले सासै लिन गाह्रो भइरहेको तथा बायाँ कान नसुन्ने अवस्थामा जिल्ला अस्पतालमा उपचार गराइरहेका बेला मंगलबार बिहानपख जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले हातमा लागेको स्लाइनसहित जबर्जस्ती जिल्ला प्रहरी कार्यालय पुर्‍याएको पीडित पोखरेलले जनाए । 'एक त बिनाकारण कुटपिट गर्‍यो, अनि उपचार पनि गर्न दिइएन,' पीडित पोखरेलले भने, 'कार्यालय प्रमुख भएर एसपीसाबले सामान्य मानवता पनि देखाउनु भएन ।' धनकुटाको सिधुवास्थित प्रहरी चौकीबाट दुई दिनअघि मात्र उनलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको थियो । दुई दिनअघि मात्र आफू जिल्ला प्रहरीमा हाजिर भएको तथा कुनै गल्ती नगर्दा पनि कुटाइ खानुपरेको उनले बताए । धनकुटाका एसपी ईश्वरीप्रसाद चापागाईंलाई प्रहरी हवल्दार पोखरेललाई कुटपिट गरेको विषयमा जिज्ञासा राख्दा उनले पोखरेल आफ्नो मातहत कर्मचारी भएकाले पत्रकार वा अरूले उसका बारे जिम्मेवार बन्नुपर्ने जरुरी नरहेको बताए । कुटपिट गरे नगरेकोबारे सोध्दा उनले आफूले कुटपिट नगरेको दाबी गरे । तर जिल्ला अस्पताल धनकुटाका अनुसार हवल्दार पोखरेललाई हिजो राति १२ बजे चोटपटक लागेको अवस्थामा उपचारका लागि ल्याइएको थियो । पोखरेललाई शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा सोमबार राति १२ बजे ल्याइएको तथा मंगलबार बिहान प्रहरी टोली आएर लिएर गएको जिल्ला अस्पताल स्रोतले बताएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis