Incident Reports

नौ जना सडक बालबालिकाको उद्धार

2018-09-06

Lumbini, Gulmi, Resunga

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इन्सेकलगायत सङ्घसंस्थाको समन्वयमा तम्घास क्षेत्रमा रहेका नौ जना सडक बालबालिकालाई भदौ २१ गते उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ । बालकहरूका अभिभावकको पहिचान गरी अभिभावकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए । सार्वजनिक कार्यक्रमहरूमा उनीहरूको अवस्थाका विषयमा गम्भीर कुरा उठेपछि प्रहरीको निगरानीमा त्यस्ता बालबालिका खोज गरी अभिभावकलाई बुझाइएको सिडिओ यदुनाथ पौडेलले बताए । ‘बालबालिका र उनका अभिभावकसँगै राखेर सम्झाएका पनि छौँ । पुनः बालबालिका सडकमै भेटिए अभिभावकलाई कारबाही गर्नेछौँ ।–पौडेलले भने । बालबालिका र परिवारलाई उद्योग वाणिज्य सङ्घ गुल्मीको सहयोगमा लत्ता–कपडा र खाद्य सामग्री प्रदान गरिएको छ । प्रहरी र प्रशासनले उनीहरूलाई विद्यालयमा भर्ना गरेर नियमित विद्यालय जाने वातावरण समेत मिलाएर परिवारलाई बालबालिका बुझाएको हो । केही वर्षदेखि सडक बालबालिकाको सङ्ख्या बढ्दै आइरहेको र उनीहरू बजारमा चोरी गर्ने, मागेर हिँड्ने क्रियाकलापमा संलग्न रहँदै आएकाले जिल्लामा क्रियाशील सङ्घ संस्थाहरूले विभिन्न कार्यक्रममा बालबालिकाहरूको विषयमा सम्वेदनशील हुन र बालबालिकाहरूलाई संरक्षण गर्न माग गर्दै आएका थिए ।

0 Comments