Incident Reports

किनबेच हुँदैन दलित समुदायले उत्पादन गरेको दुध ।

2018-09-25

जिल्ला सदरमुकाम अमरगडी बजारमा नै दलितले पालेका गाईभौँसीको दुध किनवेच नहुने गरेको दलित समुदायका व्यक्तिहरूले गुनासो गरेका छन् । पछिल्लो समयमा दलितहरूलाई होटल तथा सार्वजनिक स्थलहरूमा प्रवेश गर्न दिइए पनि दलितले उत्पादन गरी बजारमा दुध बेच्न जाँदा कसैले पनि किन्न नमानेको अमरगढी नपा-७ का सुरेश ताम्राकारले बताए । उनले भने-‘घरमा पालिएका गाईभैँसीको दुध बजारमा लैजादा कुनै व्यापारीले पनि किन्न मान्दैनन् ।’ दलितहरूले पहिले जिल्ला सदरमुकाममा रहेका डेरी पसलहरूमा दुध बेच्ने गर्दथे तर आजभोलि डेरी पसलहरू बन्दा हुँदा व्यापारीहरूले उनीहरूको दुध नकिन्दा दलित समुदायले उत्पादन गरेको दुध विक्री हुन नसकेको हो । दुध विक्री नहुँदा आफूहरूले घिउ बनाएर सस्तो मुल्यमा बजारमा बेच्ने गरेको अमरगढी नपा-२ का हरी सार्कीले दुखेसो पोखे । ‘कानुनी रूपमा जातीय छुवाछुत गर्न नपाइने भएपछि पहिलाको जस्तो देखिने गरी छोइछिटो त हाल्दैनन् । तर, नदेखिने रूपमा अझै दलितमाथिको विभेद कायमै रहेको छ ।’-सार्कीले भने । नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषण गरिएको भए पनि डडेल्धुरा जिल्लामा भने जातीय छुवाछुत कायमै रहेको छ । नेपाल सबै प्रकारका जातीय विभेद उन्मुलन गर्ने महासन्धिको पक्ष राष्ट्र भएता पनि दलितहरूमाथि जातीय छुवाछुत हुँदै आएको दलित समुदायको आरोप छ ।

0 Comments

Related Reports
Related Trend Analysis