Incident Reports

माओवादी कार्यकर्ताको आक्रमणमा एमाओवादीका कार्यकर्ता घाइते l

2013-10-10

Ghanshyam Khadka म्याग्दी । ०७० असोज २५ गते, चुनाव प्रचार-प्रसारको तयारीमा विम पुगेका आफ्ना समानुपातिक तर्फप्रस्तावित पुस्कर विकको टोलीलाई असोज २४ गते राती करिव ८ बजे नेकपा-माओवादीका कार्यकर्ताले आक्रमण गरेको एकिकृत नेकपा माओवादीले जनाएको छ । आक्रमणमा घाइते पुस्कर विक र इश्वर सुवेदीको जिल्ला अस्पताल बेनीमा उपचार भईरहेको छ । पुस्करको टाउको र चिउँडोमा चार-चार ओटा टाँका लगाएको छ । प्रत्यक्ष तर्फका उम्मेदवार लोकेन्द्र विष्ट मगरको निर्वाचन क्षेत्रमा विम गाउँमा चुनाव प्रचार-प्रसारको तयारी गर्न पुगेको टोलीमाथि लाठी र धारिलो हतियारले आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । 'कार्यक्रम तयारी गर्न म समेत १० जनाको टोली विम पुगेका थियौँ । म नेकपा-माओवादीका जिल्ला सेक्रेटरी रेशम जुग्जाली 'सुविन'कै घरमा बास बस्न गएको थिएँ । लगत्तै केही युवाहरू आए र कथित संविधानसभा निर्वाचनको प्रचार-प्रसार गर्न निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै एक्कासी पछाडिबाट आक्रमण गरे' घाइते पुस्कर विकले बताए । उनले थपे,-'हामील छलफलको लागि आग्रह गर्‍यौँ, तर उनीहरूले अपराधिक शैलीमा आक्रमण गरे । स्थानीय महिलाहरूले उद्धार गरी प्राथमिक उपचारपछि बेनी तर्फपठाएका हुन् । अन्य साथीहरू कता गए थाहा भएन ।' एमाओवादीका जिल्ला इन्चार्ज गोविन्द पौडेलका अनुसार नेकपा-माओवादीका जिल्ला सेक्रेटरी रेशम जुग्जालीको नेतृत्वमा १५-२० जनाको नेतृत्वमा लाठी र खुकुरी सहित आएको समूहले नियोजित आक्रमण गरेका थिए । आक्रमण भए पनि एमाओवादीले असोज २५ गते विममा चुनावी कार्यक्रम गर्ने जनाएको छ । नेकपा-माओवादीले घटनाको बारेमा कुनै जानकारी नआएको र पार्टीको आक्रमण गर्ने योजना नभएको तर जनताको र शहीदको भावनामा धोका दिने एमाओवादी चुनावी नौटङ्की लिएर घरमा पुग्दा शहीद परिवारले आक्रोस पोखेका हुनसक्ने जनाएको छ । 'हाम्रो आक्रमण गर्ने योजना छैन र घटनाको बारेमा कुनै प्रकारको जानकारी समेत आएको छैन । हामीले बुझेपछि सत्यतथ्य सार्वजनिक गछौँ' नेकपा-माओवादीका जिल्ला सहइन्चार्ज लालु किसानले बताए । घनश्याम खड्का

0 Comments

Related Reports
Related Trend Analysis