Incident Reports

एसपी विष्टकी पत्नीको दावी : हामीलाई 'जिउँदै मार्न' खोज्दैछन्

2018-10-26

एसपी विष्टकी पत्नीको दावी : हामीलाई 'जिउँदै मार्न' खोज्दैछन् बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याप्रकरणमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन एसपी डिल्लीराज विष्टलाई वर्खास्ती गर्ने तयारी गरेपछि विष्ट परिवारले निष्पक्ष छानबिनको माग गरेको छ। annapurna post विष्ट पत्नी जानकी विष्टले सार्वजनिक रुपमा अपिल जारी गर्दै भीडले भनेको कुरालाई आधार नमानी गहन र निष्पक्ष छानबिनको माग गरेकी छन्। 'मेरो श्रीमान दोषी छन् या छैनन् त्यसको निष्पक्ष छानबिन नभई, भीड र हल्लाकै भरमा उनलाई वर्खास्ती गरिन लागेको छ, अपिलमार्फत उनले भनेकी छिन्, 'श्रीमानले न त आफै गएर प्रमाण नष्ट गरे न कसैलाई त्यसो गर्नको लागि दबाब नै दिए।' उनले श्रीमानलाई फसाउन प्रपञ्च गरिएको बताएकी छन्। 'राज्यले हल्लाकै भरमा वर्खास्त गर्ने मिल्छ की मिल्दैन्, उनले भनिन्। उनले केही पत्रकार, महिला अधिकारकर्मी, गैरकानुनी रुपमा व्यवसाय गर्ने व्यापारी र केही पुरानो रिसीबी भएकाले जबरजस्ती रुपमै एसपी विष्टलाई आरोप लगाएर कारबाही गर्न लगाएको बताएकी छन्। उनले मेरो श्रीमानले नियतवस् प्रमाण नष्ट गरेको हो भने कसरी कहिले र कसद्वारा गरे वा गर्न लगाए त्यो कुरा स्पष्ट खुलाउन माग गरेकी छन्। 'एसपी बिष्टको अग्रसरतामा वा आफ्नै हातबाट गल्ति भएको प्रमाणित भए म आफै पनि कारबाहीको माग गर्दै तपाईसँग सडकमा आउनेछु', उनले अपिलमा भनेकी छिन्।'मलाई बलात्कारीको श्रीमती र बलात्कारीकी आमा भनेर मानसिक पीडा दिइँदैछ, उनले भनिन्, 'मलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार खोइ।' अपराधी कसैको आफन्त हुँदैन तर बिना गल्ती मेरो परिवारकको चरित्र हत्या र मानसिक यातना खेप्नु परेको उनको दुखेसो छ। उनले केही पत्रकारको गलत समाचार प्रसारणको कारणले परिवारलाई चरम यातना दिने काम गरेको भन्दै आक्रोश पोखेकी छन्। 'हामीलाई जिउँदै मार्ने प्रयास भइरहेको छ, 'जानकीले अपिलमा भनेकी छन्, 'के मलाई बाँच्ने अधिकार छैन ? किन बिनागल्ती हामीलाई मानसिक यातना दिइँदैछ।' राष्ट्रिय मानव अधिकार आयोग, उच्च स्तरीय छानबिन समिति, प्रहरी प्रधान कार्यालयको छानबिन समितिप्रति समेत उनले असन्तुष्टि जनाएकी छन्। छानबिनका लागि आएका कसैले पनि आफ्नो परिवारमाथि परेको समस्याबारे सोधपुछ नगरिदिएको उनको गुनासो छ। 'दुवैजना बुबा र छोराको डीएनए परीक्षण समेत गरियो, तर पनि अनुसन्धानमा सहयोग हुन्छ भनेर सजिलैसँग हामीले अनुसन्धान गर्न दियौँ, 'उनले अपिलमा भनेकी छन्।' उनले छोरालाई बलात्कारी बनाएर उसलाई चरम यातना दिइएको र त्यही कारणले उसको बाँच्न पाउने अधिकार कुण्ठित भएको परिवारको आरोप छ। उनले आफ्नो छोराको शारीरिक, मानसिक, सामाजिक र व्यवसायिक रुपमा गम्भीर असर परेको बताइन्। दुईदिन अघि बर्खास्तीको सिफारिसमा परेको प्रहरी निरीक्षक जगदिश भट्टकी श्रीमतिले समेत आफ्नो श्रीमानलाई फसाउन खोजिएको भन्दै न्यायका लागि अपिल गरेकी थिइन्। बालिका बलात्कार र हत्या प्रकरणमा अनुसन्धानमा गम्भीर लापरबाही गरेको, प्रमाण नष्ट गर्ने काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई वर्खास्तीका लागि गृहमन्त्रालयमा सिफारिस गरिसकेको छ।गृहले दुवैजनासँग स्पष्टिकरण समेत सोधिसकेको छ।पहिलो स्पष्टिकरण गृहमा बुझाइसकेका दुवैलाई गृहले पुनः ४ घण्टे स्पष्टिकरण सोधेको छ।

0 Comments