2019-01-07
केही महिनाअघि खोटाङकी भानुमती राई (परिवर्तित नाम) जेठाजुबाटै बलात्कृत भइन्। तर घटना गुपचुप राखिएन। पीडितले प्रहरीमा उजुरी दिएपछि बलात्कारी जेठाजु कारबाहीमा परे। यस्तै जिल्लाकै दक्षिणी क्षेत्रकी एक महिलाले सँगै बजार गएका आफन्त पुरुषले बाटोमा यौन दुर्व्यवहार गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर घर फर्कने क्रममा जंगलमा बलात्कारमा परिन्। हाल ती पुरुष जेलमा सजाय भोगिरहेका छन्।
यी केही प्रतिनिधि घटना हुन्। खोटाङमा भएका बलात्कार तथा प्रयासका घटनामा आफन्त तथा चिनजानकै पुरुष संलग्न देखिएका छन्। तिनले आफ्नै नातामा पर्ने तथा छिमेकी कलिला बालिकादेखि विवाहित महिला तथा वृद्धालाई समेत बलात्कारको सिकार बनाएका छन्।
गत साउन १ गतेदेखि हालसम्म बलात्कार तथा यौन दुव्र्यवहारका १७ घटनामध्ये १५ वटामा आफन्त तथा चिनजानकै व्यक्ति संलग्न पाइएको जिल्ला प्रहरी कार्यालय (खोटाङ)का डिएसपी राजकुमार केसीले जानकारी दिए। यस अवधिमा बाल यौन दुरूपयोग मुद्दामा जालपा प्रहरी चौकीका असई रमेश बस्नेतसमेत अनुसन्धानका क्रममा हिरासतमा छन्। ‘यस आर्थिक वर्षमा यौन दुर्व्यवहारमा संलग्न सबै दोषीलाई कानुनी दायरामा ल्याइएको छ,’ डिएसपी केसीले भने, ‘तर महिलाका लागि टाढाका र अपरिचितभन्दा नजिकका र परिचित मान्छे ‘थ्रेट’ का रूपमा देखापरेका छन्।’
परिचित तथा आफन्तबाट यौन दुर्व्यवहार हुँदा सामाजिक तथा पारिवारिक कारणले पीडितले आवाज नउठाउने तथा अरूले शंकासमेत नगर्ने भएकाले बलात्कारीले परिचित महिलाप्रति नै बढी कुदृष्टि राख्ने गरेको प्रहरीको अनुमान छ। नजिकका नाता सम्बन्धका कारण पनि कतिपय खराब प्रवृत्तिका पुरुषको फन्दामा महिला सहजै पर्ने गरेको पनि घटनाहरूले देखाएका छन्। विश्वास गरिएका कतिपय पुरुषसँग हिँड्डुल तथा उठबस गर्ने क्रममासमेत महिलाले यौन हिंसा भोग्नुपरेको डिएसपी केसीले बताए। ‘नजिकका नाता सम्बन्ध भएका महिला–पुरुष बीचमा प्रहरीको उपस्थिति सम्भव हुन्न। ससुरा–बुहारी, जेठाजु–बुहारीजस्ता साइनोमा कसैले शंका गर्ने ठाउँ पनि हुँदैन,’ उनले भने, ‘तर त्यही सम्बन्ध बीचमा यौन दुर्व्यवहारका घटना भइरहेको पाइन्छ। त्यसैले यस्ता विषयमा सम्बन्धित परिवार नै सजग हुनुपर्ने देखिन्छ।’
पहिला–पहिला पनि समाजमा यौन हिंसाका घटना प्रशस्त हुन्थे। तर इज्जत र प्रतिष्ठाका कारण लुकाउने गरिन्थ्यो। सार्वजनिक भइहाले पनि गाउँमै मिलापत्र गराइन्थ्यो। तर पछिल्लो समय जनचेतना बढेका कारण धेरैजसो महिलाले आफूलाई भएको यौन हिंसा सार्वजनिक गर्ने भएकाले घटना बढेको देखिएको प्रहरीको अनुमान छ। अर्कातर्फ यौन दुर्व्यवहारका घटनामा मिलापत्र गर्नुको साटो प्रहरीले तत्काल मुद्दा दर्ता गरेर दोषीविरुद्ध कारबाही अघि बढाउने गरेकाले पनि बलात्कारका घटना बढेको देखिएको हो।
पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगका कारण समेत बलात्कार तथा यौन दुर्व्यवहार बढेको पाइएको डिएसपी केसी बताउँछन्। ‘अहिले यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई निरुत्साहित गर्न पीडित महिलाले साहस गर्न थालेका छन्। मिलापत्र गरेर पीडककलाई उन्मुक्ति दिनहुन्न भन्ने सचेतना विकास भएको छ,‘ उनले भने, ‘सामाजिक सञ्जाल वा प्रविधि चलाउने आफ्ना बालबच्चा कहाँ, के गर्दैछन् भन्ने विषयमा अभिभावकको ध्यान पुग्न सके मात्र पनि यौन हिंसा कम गराउन सकिन्छ।’
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19