Incident Reports

भरतबाट उद्धार गरिएका १८२ मध्ये सात महिला काठमाडौं फर्किए

2019-02-08

Bagmati, Kathmandu, Kathmandu

जागिरको प्रलोभनमा बेचबिखन गर्ने गिरोहको फन्दाबाट उद्धार गरिइएका महिलामध्ये सात जना बिहीबार साँझ काठमाडौं आइपुगेका छन् ।

तीमध्ये एक महिलालाई म्यानमारबाट र अन्य ६ महिलालाई भारतको राजधानी दिल्लीबाट उद्धार गरिएको हो । म्यानमारबाट उद्धार गरिएकी २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो ।

दिलबहादुर कार्की नाम गरेका एजेन्टले दुबईमा काम मिलाइदिन्छु भन्ने प्रलोभनमा म्यानमार पुर्‍याएकाे उनी बताउँछिन् । दोलखाकी ती युवती काठमाडौंबाट दिल्ली पुगेर त्यहाँ २५ दिन बसेपछि मणिपुर पुगेकी थिइन् । म्यानमारमा सात दिन उनलाई राखिएको बुझिन्छ । तर ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिजा नमिलाइदिएको र म्यानमारमै अलपत्र छाडेको गुनासो उनले गरेकी थिइन् ।

म्यानमारमा उनलाई भारतीय प्रहरीले पक्राउ गर्दा उनको साथमा अन्य आठ जना नेपाली महिला भए पनि उनीहरुको यथार्थ खुलाइनन् । उनका दाजुले बहिनीको उद्धारको लागि माइती नेपाललाई लेखेको पत्रका आधारमा संस्थामार्फत म्यानमार दूताबासमा चिठी पठाएर उद्धार प्रक्रिया अगाडि बढाइएको माइती नेपालका उपनिर्देशक अच्युत नेपालले बताए ।

गत सुक्रबारदेखि भारतीय प्रहरीले मणिपुरको विभिन्न ठाउँबाट धेरै नेपालीको उद्धार गरिसकेको छ । एक सातामा उद्धार हुनेको संख्या एक सय ८२ पुगिसकेको छ । उद्धार गरिएका नेपाली त्यहाँको उज्वाला सेल्टरमा बसिरहेका छन् ।

उद्धार गरिएका ब्यक्तिमध्ये धेरैको कागजी रुपमा नाबालकको उमेर कटिसकेको देखिए पनि भारतको राज्य सरकारले उद्धार गरिएका व्यक्तिमध्ये अधिकांशलाई नाबालकमै राखेकाले उनीहरुको अनुसन्धान प्रक्रिया जारी छ ।

यसलाई छिटो छरितो गरेर उद्धार गरिएका नेपालीलाई नेपाल फर्काउन माइती नेपालले त्यहाँको राज्य सरकारको महिला तथा बालबालिकामन्त्री मेनका गान्धीलाई पत्राचार गरिसकेको उपनिर्देशक नेपालले जानकारी दिए ।

National/Online Media

0 Comments