Incident Reports

१२० महिलाको परिवारबाटै हत्या, यौन दुर्व्यवहारका घटना बढे

2019-02-20

Nepal

महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लंघन र दुर्व्यवहारका घटना धेरै हुने गरेको पाइएको छ। गत वर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ।

गत वर्ष मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा ५ हजार १ सय १० जना पीडित भएका छन्। ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औंल्याएको छ। मंगलबार सार्वजनिक इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लंघनसम्बन्धी २ हजार ८ सय २४ र बाल अधिकारसम्बन्धी १ हजार २ सय ४८ घटना भएको उल्लेख छ।

पुस्तकका अनुसार गत वर्ष १ हजार ६ सय ३२ घरेलु हिंसाका घटना भएको र ३ सय २६ महिला बहुविवाहबाट पीडित भएका छन्। दाइजो नल्याएको आरोपमा धनुषामा २ र बारामा १ जना महिला मारिएको र २२ महिलामाथि दाइजोकै कारण घरेलु हिंसा भएको जनाइएको छ। ८२ जना महिला बेचबिखन तथा मानव तस्करीमा परेका छन्।

सन् २०१८ को मानव अधिकार अनुगमन प्रतिवेदनका रूपमा प्रकाशित वर्ष पुस्तकमा सन् २०१९ मा अपहरणका २८ घटना, १ सय २ जना गिरफ्तार भएको र हिरासत वा थुनामा २ जनाको मृत्यु भएको उल्लेख छ। ३ सय २८ जनाको हत्या भएको, ४ जनाको जेलभित्रै मृत्यु भएको, १९ जनालाई यातना दिइएको र ३६ जनामाथि अमानवीय व्यवहार भएको पनि पुस्तकमा उल्लेख छ।

सन् २०१७ भन्दा गत वर्ष मानव अधिकार उल्लघंनका ९ सय ४९ घटना थोरै भए पनि महिला तथा बालिका बलात्कार र यौन दुर्व्यवहार बढेको जनाइएको छ। पुस्तकका अनुसार ८ सय १८ बालिका बलात्कृत भएको र २ सय २६ बालिका यौन दुर्व्यवहारमा परेका थिए। स्कुलमा दिइने शारीरिक सजायका ४२ घटना, ७२ बालबालिका बेचबिखनमा परेको पुस्तकमा उल्लेख छ।

पुस्तक सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानुन राम्रा हुँदैमा मानव अधिकार संरक्षण हुन नसक्ने बताए। नेपालको मानव अधिकारको अवस्था सुधार हुन नसकेकोमा उनले चिन्ता प्रकट गरे। ‘राज्य सञ्चालनमा कस्ता व्यक्ति छन् भन्ने यहाँको मानव अधिकारको स्थितिले नै प्रष्ट पारेको छ’, उनले भने, ‘राज्य सञ्चालनमा राम्रा व्यक्ति नहुन्जेल मानव अधिकार संरक्षण हुन सक्दैन।’

National/Online Media

0 Comments